अमेरिकाको कनेटिकटमा ‘नेपाल फेस्टिभल’ हुने
ब्र्यानफोर्ड, अमेरिका / नेपाल र अमेरिका बीच दौत्य-सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपल़क्ष्यमा कनेटिकट राज्यको ब्र्यानफोर्ड शहरमा “नेपाल फेस्टिभल-२०२३” हुने भएको छ।
सोसाइटी अफ नेपालिज इन अमेरिकाले महोत्सवको आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच दौत्य-सम्बन्ध स्थापना भएको थियो ।
नेपाली कला-संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्धन गर्ने उद्धेश्य राखेर पहिलो पटक कनेटिकट राज्यमा हुन लागेको उत्सवमा सिंगो नेपालको झझल्को दिने प्रयास गरिने आयोजकको भनाई छ ।
कनेटिकट राज्य, अमेरिकाको एउटा उत्तर-पूर्वी राज्य हो भने ब्र्यानफोर्ड शहर, न्युयोर्कबाट करिब ७४ माइल उत्तर-पूर्वमा छ । ब्र्यानफोर्डमा उल्लेख्य संख्यामा नेपालीको बसोबास छ ।
ब्र्यानफोर्ड शहरको ग्रिन पार्कमा जुलाई १५, २०२३ शनिबारका दिन हुने उक्त महोत्सवमा नेपालीहरूको विभिन्न भेषभूषा एवं संस्कृति झल्काउने पहिरनका साथ झाँकी एवम् परेडबाट बिहान ९:३० बजे कार्यक्रमको सुभारम्भ गरिनेछ ।
परेडमा कनेटिकट राज्यसहित वरपरका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपाली संघ-संस्था तथा स्थानीय समुदायहरूको समेत बाक्लो सहभागिता हुने विश्वास आयोजक समितिले गरेको छ ।
महोत्सवमा कनेटिकट तथा वरपरका राज्यहरूका उच्च-पदस्थ अधिकारीलाई पनि सहभागी गराउने प्रयास गरिनेछ । उक्त कार्यक्रमा नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारका खानाका स्टल, बालबालिकालाई रमाउने स्टलहरू राखिनेछन् ।
उक्त महोत्सवमा स्थानीय कलाकारका साथै नेपाली कलाकारहरूले गीत, संगीत एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालीहरूको पहिचानलाई विश्व समुदायमाझ पुर्याहउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना गर्न लागिएको हो ।
यो महोत्सवमा ३ हजारदेखि ४ हजारसम्म नेपाली तथा स्थानिय समुदायहरू सहभागी हुने विश्वास गरिएको छ । यस महोत्सवलाई भव्यताका साथ सफल हुनेछ भन्नेमा आयोजक “सोसाइटी अफ नेप्लिज इन अमेरिका” विश्वस्त छ ।
यस कार्यक्रमबारे अन्य थप विस्तृत विवरणसहितको जानकारी उक्त सोसाइटीको वेबसाइट, फेसबुक पेज तथा स्थानीय संयोजक प्रतिनिधिहरूबाट उपलब्ध हुनेसमेत जानकारी गराइने आयोजकले जनाएको छ।