नव निर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण आज
काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् । निर्वाचन आयोगले चैत २५ गते सम्पन्न भएको राष्ट्रपति पदको निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि पद तथा गोपनियताको सपथ र पद हस्तान्तरण आज हुन लागेको हो ।
भण्डारीको कार्यकाल गयराति १२ बजेदेखि पूरा भएको छ । आज दिउँसो १ बजे सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशक हरिकृष्ण कार्कीले नव निर्वाचित राष्ट्रपति पौडेललाई पद तथा गोपनियताको सपथ खुवाउने छन् । त्यसपछि राष्ट्रपतिको रुपमा पौडेलले कार्यभार सम्हाल्ने छन् ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने व्यवस्था रहेको छ ।
अहिले मुलुकमा प्रधनन्यायाधिश पद रिक्त रहेकाले कायम मुकायम प्रधनन्यायाधिश कार्कीले सपथ गराउने भएका हुन् ।
नेपालको संविधान अनुसार संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई आज नै पदभार हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने छिन् । भण्डारी शीतल निवासबाट निस्केपछि बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर २ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेकी छिन् ।