नेपाल एएफसी यू–२० एसियन कप छनोटको दोस्रो चरणमा
प्यालेस्टाइन । नेपाल एएफसी यू–२० महिला एसियन कप छनोट फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा आज भएको समूहचरणको दोस्रो खेलमा नर्दन मारियाना आइल्याण्डलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको हो ।
पहिलो खेलमा प्लोस्टाइनलाई ६–० गोल अन्तरले पराजित गरेको नेपालले आज बराबरीमात्रै गर्दा पनि दोस्रो चरणमा पुग्ने समिकरण बनेको थियो । तर शतप्रतिशत जितका साथ नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्यालेस्टाइनको फैजल अल हुसेइनी इन्टरनेशनल स्टेडियममा नेपालले नर्दन मारियानाविरुद्ध पहिलो हाफमा ५ गोल गरेको नेपालले दोस्रो हाफमा भने १ गोलमात्रै थप्न सफल भयो ।
नेपालका लागि दीपा शाही र सारा ब्रजाचार्यले २–२ गोल गर्दा सरस्वती हमाल र जेनिफर राणाले एक एक गोल थपे । दीपा शाहीले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
त्यसको २ मिनेटपछि साराले नेपालको अग्रता दोब्बर पारिन् । यस्तै दीपाले १९ औं मिनेटमा नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरिन् । ३० औं मिनेटमा सरस्वती हमालले गोल गरेपछि नेपाल ४–० ले अघि बढेको थियो । सारा बज्राचार्यले ४५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल पहिलो हाफमा ५–० ले अघि बढेको थियो । दोस्रो हाफको थप गरिएको समयमा जेनिफर राणाले व्यक्तिगत पहिलो गोल गर्दा नेपाल ६–० ले विजयी भयो ।