अष्टलक्ष्मी एमालेबाट उपराष्ट्रपति उम्मेदवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रपतिको चुनावमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाए पनि सफलता हात नपारेको एमालेले मार्च १७ तारिखमा हुन लागेको उपराष्ट्रपति पदको चुनावका लागि शाक्यलाई उम्मेदवार बनाउन लागेको हो ।
सत्तारुढ गठबन्धन अंकगणितका हिसावले अगाडि रहे पनि एमालेले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको हो ।
उपराष्ट्रपतिको उम्मेदवार चयन गर्नका लागि एमालेको सचिवालय वैठक शनिबार बसेको थियो ।
सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उप–महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा छलफल भएको पनि उनले बताए ।