राष्ट्रपति भण्डारीलाई निर्वाचन आयोगले बुझायो प्रतिवेदन
काठमाडौं । विहीबार सम्पन्न भएको नयाँ राष्ट्रपति चयन गरेको परिणाम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले प्रतिवेदन बुझाएका हुन् । विहीबार भएको निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन् ।
राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएसँगै अब पदभार हस्तान्तरणको प्रक्रिया अघि बढ्ने छ । संविधान अनुसार भण्डारीको कार्यकाल २८ गतेसम्म रहेको छ ।
नव निर्वाचित राष्ट्रपति पौडेलले सोमबार पदतथा गोपनीयताको सपथ लिने छन् र त्यसपछि शीतल निवास सर्ने छन् । संविधान अनुसार राष्ट्रपतिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग सपथ लिनुपर्छ ।
अहिले सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की रहेका छन् । उनैले नै राष्ट्रपतिलाई सपथ खुवाउने छन् ।