प्रधानमन्त्रीविरुद्धको मुद्दा स्वभाविक छैन : नारायणकाजी
बुटवल । सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दालाई आफूहरुले स्वभाविकरुपमा नलिएको बताएका छन् ।
‘द्वन्द्वकालिन समयका कुरालाई लिएर प्रधानमन्त्री प्रचण्डबिरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन ।’ श्रेष्ठले भने ।
बुटवल–नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आउनुभएका श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले सर्बोच्च अदालतमा दायर भएको मुद्दालाई आफुहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको जवाफ दिए ।
उनले भने– ‘तर सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानवीन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धि विधेयक संसदमा टेबुल गरिसकेका छौं ।’
उपराष्ट्रपति चुनाव सकिए लगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने उनले जानकारी दिए । नौ दलीय गठबन्धनको वर्तमान सरकार स्थिर र प्रभावकारी हुने, पार्टीबाट पठाईएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफुहरूले केही नसोचेको समेत उनको भनाई छ ।