समृद्ध नेपाल बनाउन महिलाहरू सामाजिक आर्थिक रूपमा स्वतन्त्र र सशक्त हुनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरू सामाजिक आर्थिक रूपमा स्वतन्त्र र सशक्त नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन्।
बुधबार सगरमाथा प्रतिष्ठान नेपालको २२ औ स्थापना दिवस तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोल्दै उपराष्ट्रपति पुनले समृद्ध नेपाल बनाउन महिलाहरू सामाजिक आर्थिक रूपमा स्वतन्त्र र सशक्त भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका हुन् ।
समानुपातिक समावेशि शासन व्यवस्थाले आज जननिर्वाचित निकाय, सरकारी सेवा लगायतका क्षेत्रमा महिलाहरूको पहुँच र सहभागिता बढेको भन्दै उनले खुसी व्यक्त गरे ।
उनले भने “कुनै देश तथा समाजमा महिलाहरूको अवस्था कस्तो छ । त्यसले नै त्यो देश तथा समाज कति सभ्य र विकसित सुसंस्कृत समाज हो भन्ने कुराको मापन पनि भएको हुन्छ । महिला सशक्तीकरणका लागी शिक्षा, स्वास्थ्य, रोजगार, पैतृक सम्पत्तिमाथि समान हक र आर्थिक आत्मनिर्भरता पहिलो कुरा हो भन्ने लाग्दछ । ”
उनले नेपालको राजनितीक, आर्थिक, सामाजिक , रुपान्तरणमा महिलाहरुले गरेको भूमिकाको उच्च सम्मान रहेको व्यक्त गरेका छन् ।