२४५० मतभार भएको राप्रपाले राष्ट्रपतिको चुनावमा मत नहाल्ने
काठमाडौं । विहीबार हुन लागेको राष्ट्रपति पदको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कसैलाई पनि मतदान नगर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् । उसको २ हजार ४ सय ५० मतभार रहेको छ ।
विहीबार हुने राष्ट्रपति पदको चुनावमा कांग्रेससहितको गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेकाले यो निर्णय गरेको प्रवक्त श्रेष्ठले बताए । बैठकमा ‘संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्क बलियो भयो’ प्रवक्ता श्रेष्ठले भने ।