मौन अवधि सुरुहुनु पूर्व राप्रपा अध्यक्ष लिङ्देन र राष्ट्रपतिका उम्मेदवार पौडेलबीच भेटवार्ता
काठमाडौं । मार्च ९ तारिखमा हुन लागेको राष्ट्रपति पदको चुनावका लागि नेपाली समय अनुसार मध्यराति देखि मौन अवधि सुरु हुँदै छ । मौन अवधिमा निर्वाचन आचार संहिता अनुसार उम्मेदवारले प्रचार प्रसार गर्न पाइँदैन ।
राष्ट्रपति पदमा नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट आठ दलीय गठबन्धनको नेतृत्वले वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । पछिल्लो समय मत माग्न र भेटघाटमा ब्यस्त रहेका पौडेलले सोमबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेका पौडेलले अध्यक्ष लिङ्देनसँग मत मागेका हुन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, माओवादीका शक्ति बस्नेतसहित मधेशवादी नेताहरुलाई साथ लिएर गएका पौडेलले झण्डै १ घण्टा छलफल गरेका थिए । छलफलपछि पौडेलसँगै गएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राप्रपासँगको छलफल सकारात्मक रहेको र चुनावमा आफूहरुले सहयोग पाउने बताए ।
उनले भने ‘८ मार्चमा बस्ने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चुनावका बारेमा निर्णय गर्ने बताए ।’ ‘राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाइ सहयोग गर्न भन्यौँ । उहाँहरुले अग्रिम शुभकामना दिनुभयो । उहाँहरुले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’ खड्काले भने ।
यस्तै, पौडेलसहितको कांग्रेस टोली पार्टी कार्यालयबाट विदा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गर्ने बताए । राष्ट्रपतिको निर्वाचनलाई राप्रपाले शतर्कताका साथ हेरिरहेको पनि जानकारी दिए ।
उनले भने, ‘आज खासगरी नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा भोट माग्न आउनुभएको थियो । हाम्रो पार्टीको सहयोग रहोस् भनेर आग्रह गर्नुभयो । हामीले २४ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएका छौँ, त्यसपछि निर्णय गर्नेकुरा राखेका छौँ । यही कुरा नेकपा एमालेलाई पनि भनेको छौँ । शुभकामना दियौँ । स्वागत गरेका छौँ । हामीले सिधा भन्ने अवस्थामा पुगेका छैनौँ ।
हाम्रो पार्टीले राष्ट्रपतिको निर्वाचनलाई शतर्कता पूर्वक हेरिरहेको छ । हाम्रो पार्टीको गणित, दुई पक्षिय उम्मेदवारी र आम जनधारणा, हाम्रो शुभेच्छुकहरुको धारणालाई शतर्कताका साथ हेरिरहेका छौँ । हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ ।’