नेपाली महिला पाइलटले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान
काठमाडौं । महिलाहरु चुलो चौकमा मात्रै सिमित हुन्छन् भन्ने मान्यता अहिले हटिसकेको छ । राजनीतिक र सामाजिक क्षेत्रमा अहिले महिलाहरुले उल्लेख्य फड्को मार्दै पनि आएका छन् ।
अझ भन्ने हो भने नेपालमा महिला राष्ट्रपति, महिला सभामुख, महिला मुख्य मन्त्री भएको इतिहास पनि छ । कर्पोरेट क्षेत्रमा महिलाले नेतृत्व गरिसकेका छन् । विगतमा भन्दा अहिले महिलाहरु धेरै अगाडि बढी सकेका छन् । यस्तै क्रममा नेपाली महिला पाइलटहरुले पनि नयाँ मानक बनाउन सफल भएका छन् ।
नेपाल एयरलाइन्समा कार्यरत दुई महिला पाइलटले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका हुन् ।
निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आइतबार काठमाडौँ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो भएको प्रवक्ता खड्काले बताइन् ।
निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए ।
उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका रहेको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन् ।