ए डिभिजन लिगमा थ्रीस्टार र पुलिस पराजित
काठमाडौं / शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ र चर्च ब्वाइजले विजयी सुरुआत गर्दा मनाङ र हिमालयन शेर्पाले बराबरीमा चित्त बुझाएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा ललितपुरे क्लब थ्रीस्टारलाई पराजित गर्दै विभागीय क्लब एपीएफ विजयी सुरुआत गरेको हो । एपीएफले थ्रीस्टारमाथि २–० गोल अन्तरले पराजित गरको हो । एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड विडोमले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।
७२ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । यसैगरी ८६ औं मिनेटमा अर्मान्डले गोल गरेपछि एपीएफ २–० को सहज जित निकाल्न सफल भयो ।
चर्च ब्वाइजकाे जित
यसै सिजन ए डिभिजन लिग खेल्न सुरु गरेको चर्च ब्वाइजले पनि विजयी सुरुआत गर्न सफल भयो । च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइजले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
पुलिसले सुरुआती अग्रता जोगाउन असफल रह्यो । रवि पासवानले १४ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई बरारीमा ल्याउँदै खेलमा फर्र्काए । ७० औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमार्फत गोल गरेपछि चर्च ब्वाइज २–१ ले विजयी हुँदै स्पष्ट ३ अंक लिन सफल भयो ।
पहिलो खेल नै बराबरीमा
दशरथ रंगशालामा भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ८ पटकका ए डिभिजन लिग च्याम्पियन मनाङले अग्रता लिए पनि जोगाउन असफल रह्यो । १४ औं मिनेटमा रोशन रानामगरको गोलबाट मनाङले अग्रता लिएको थियो । ८५ औं मिनेटमा सुरेश कुमालले बराबरी गोल गर्दै हिमालयन शेर्पाको हार टारेका थिए ।