रवि लामिछानेसँग पौडेलले भोट मागे
काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका पौडेलले आफुलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीसंग औपचारिकरुपमा आग्रह गर्नका लागि अध्यक्ष लामिछानेसँग भेट गरेका हुन् ।
शुक्रबार स्वतन्त्र पार्टी कार्यालय पुगेर राष्ट्रपतिका उम्मेदवार पौडेल लगाएत कांग्रेस नेताले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह थिए । कांग्रेस मुख्य सचेतक रमेश लेखकले राष्ट्रपतिको निर्वाचनमा पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेको र सकारात्मक कुरा भएको जानकारी दिए ।
पार्टीको केन्द्रीय समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने जवाफ पाएको र आफुहरु आशावादी रहेको लेखकको भनाई छ ।
यसैगरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिका उम्मेदवारलाई शुभकामना दिएको र केहि दिनमै पार्टीको बैठक बसेर आवश्यक निर्णय गर्ने बताएको जानकारी दिएका छन् ।
मार्च ९ तारिखमा नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । पौडेलसँगै एमालेका सुवासचन्द्र नेम्वाङ पनि राष्ट्रपति पदको चुनावी प्रतिस्पर्धामा रहेका छन् ।