प्रधानमन्त्री प्रचण्डविरुद्धको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
यसअघि सर्वोच्च प्रशासनले प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि निवेदकहरु अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतहरु दोस्रो पटक अदालत पुगेका थिए ।
२०७६ को माघी पर्वका अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजार मध्य ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
तत्कालिन अवस्थामा सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो ।
दरपीठ आदेश विरुद्ध नै निवेदकहरु सर्वोच्च अदालतमा अर्को निवेदन दिएपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको संयुक्त इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो । निवेदकहरुले आइतबार कार्यालय खुलेपछि निवेदन दर्ता गराउने बताइएको छ ।