‘ओलीले संसद विघटन ठिक थियो भनेपछि गठबन्धन तोडियो’ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठिक थियो भने कै कारण आफुले विकल्प खोजेको बताएका छन् ।
बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन बोलाइएको आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि नयाँ बिकल्प खोजेको बताएका हुन्।
पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको उनको भनाई छ ।
सांसदहरूको भेलामा प्रधानमन्त्रीको भनाई उद्धतगर्दै उनको सचिवालयले भनेको छ ‘अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।’
प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेललाई १० पार्टीको सर्मथन रहेको दाबी गरे उनले भने “रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ।”
नेपाली राजनीति उतारचढावपूर्ण परिस्थिति रहेको भन्दै उने अहिले पनि नेपाली राजनीतिक संकट र चुनौतीकै बिचमा रहेको बताए ।
उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा आफुलाई अभूतपूर्व मत प्राप्त भएको स्मरणगर्दै भनेको छन् ‘त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो। बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ।’
उनले आफ्ना लागि प्रधानमन्त्री पद ठुलो नभएको जिकिर गरे ।
उनले भने “मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद विघटनको विपक्षमा थियौँ। हामी आफैले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ। संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ।”
कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गरेका थिए ।