सरकार जनताको जीवनमा परिवर्तन ल्याउन दृढ छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन दृढ रहेका बताएका छन् ।
नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले यस्ता चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका बताए ।
उनले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपील पनि गरेका छन् ।
उनले माझी जाति परम्परागत रूपमा पानीसँग रमाउदै र जिउँदै आएको विशिष्ट पहिचान भएको जाति भएको बताउँदै विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेशा बिस्तारै लोप हुँदै गएको उल्लेख गरेका छन् । आजको दिनमा माझी जातिले विशेष गरेर नदी र पानीको पूजा गरेर मनाउने गर्दछन् ।