रवि लामिछाने,बा बा भन्दै ओलीको लागेका थिए‚ बाले लगेर सिध्याई दिए : प्रसाईँ
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई एमाले अध्यक्ष केपी ओलीले सिध्याएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यवस्था ठिक छ अब अवस्था परिवर्तन गरेर अगाडि बढ्छु भन्ने लामिछानेलाई सबै मिलेर सिध्याएको आरोप लगाए । त्यसमा पनि केपी ओलीकोपछि लागेका लामिछानेलाई ओलीले नै सिध्याएको उनको दाबी छ ।
‘उहाँले मेरो जस्तो व्यवस्था नै परिवर्तन गरेर जानु पर्ने थियो तर व्यवस्था ठिक छ अब अवस्था परिवर्तन गरेर जान्छु भनेर बा बा भन्दै हुनुहुन्थ्यो बा ले लगेर सिध्याई दिए ।’ प्रसाईले भने।
राज्यले देशमा काम गर्ने वातावरण नदिने अनि विदेश गएका मान्छे ल्याएर नेपाली नागरिक बनाउने गरेको उनको आरोप छ ।
उनले भने ‘राज्यले यो देशमा काम गर्ने वातावरण नदिने अनि मान्छे बाहिर गएपछि यहाँ नागरिकता बन्द गर्ने अनि नागरिकता विद्येयक पास गरेर सारा मान्छे ल्याएर यहाँका नागरिक बनाउने । रवि लामिछानेलाई खेद्ने काम नै छैन् ।’
राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका मागहरू पुरा नभएसम्म सडक आन्दोलन जारी राख्ने प्रसाईँको भनाई छ ।
उनका अनुसार राष्ट्रलाई सेतो हात्ती भएको संघीयता खारेज गर्नुपर्ने, सबै धर्मलाई सम्मान गर्दै वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने, गणतन्त्रको बाटो हिँड्दा अफाप सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने उनको दावी छ।
बैंक, लघुवित्त सहकारी र बिमा कम्पनीहरूलाई तुरुन्त राष्ट्रिय करण गरी निक्षेपकर्ताहरूको निक्षेपलाई ध्यानमा राख्दै निक्षेप कर्ता को व्याज ६% प्रतिशत भन्दा माथि नहुनेगरी ऋणीहरूको बिस लाख भन्दा मुनिको ऋण मिनाहा गर्न पनि उनले माग गरे।
यस्तै विखण्डन भएको परिवार र घरबाट निकालि सुकुम्बासी बनाई सडकमा पुर्याएका परिवारहरूलाई एकैठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने जस्ता विभिन्न १५ वटा माग सहित आन्दोलनमा उत्रिने बताएका छन्।