एनआरएनएको सम्पत्ति दायाँ बायाँ हुँदैन, हामी छौं : एमाले नेता प्रदिप ज्ञावली
पेन्सिलभेनिया,अमेरिका/ नेकपा एमाले उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले नेपालमा रहेको सम्पत्तिलाई लिएर चिन्ता नगर्न एनआरएनएहरुलाई आग्रह गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका र क्यानडाले संयुक्त रुपमा आइतवार आयोजित अन्तर्क्रियामा नेता ज्ञावलीले अबको ६ महिना भित्रै गैर आवासीय नेपाली सम्बन्धी ऐन आउने पनि दावी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसला पछि एनआरएनहरुमा आफ्नो सम्पत्तिका लागि लिएर चासो र चिन्ता देखिको बताउदै नेता ज्ञावलीले ढुक्क हुन आग्रह गरेका हुन्।
‘अस्तिको फैसलाले केही त्रास भए पनि तपाईंहरु ढुक्क हुनुस तपाईंहरुको सम्पत्ति दायाँ बायाँ हुँदैन । हामी छौं,’ उनले भने।
पूर्वपराराष्ट्र मन्त्री ज्ञावलीले एनआरएनए कार्डका बिषयमा थप सचेतना जगाउनु पर्ने आवश्यकता औल्याए।
ज्ञवालीले ६ महिना भित्रै गैर आवासीय नेपाली सम्बन्धी ऐन आउने बताए। सरकारको न्यूनतम साझा कार्यक्रममा ६ महिनाभित्र १२ वटा ऐन बनाउने लक्ष्य लिएको र त्यसमा एनआरएनएको बारे पनि रहेको ज्ञावलीले बताए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पण्डितले विदेशको नागरिकता लिएकाहरुलाई अब नेपाल जाँदा नेपाली नागरिकता प्रयोग नगर्न सुझाव दिएका छन्। पण्डितले अब त्यसो गर्दा समस्या पर्न सक्ने बताए।
‘केही लुपहोलहरु छन्’ उनले भने,’नेपाली मुलका विदेशी नागरिकले नेपाल आउदा प्लेन चड्दा टिकट सस्तो हुनाले नेपाली नागरिकता देखाउने जग्गा पास गर्नका लागि एकदम झमेला हुनाले नेपाली नागरिकता देखाउने यी चिजहरु अब गर्दा समस्या आउन सक्छ।’
उनले हिजोका दिनमा विदेशको नागरिकता लिएर पनि नेपाली नागरिकता प्रयोग गरिएको भए त्यसलाई छुट दिने गरि कानुन ल्याउनु पर्नेमा जोड दिए। ‘हिजोका दिन केही छ भने एउटा छुट दिनु पर्छ, जे भयो भयो क्लिन सिट गर्ने हिसावले नियम कानुन ल्याएर सेटल गर्नु पर्छ।’
अधिवक्ता पण्डितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुनी प्रक्रिया पुरा नगरेकोले समस्या भएको धारणा राखे। ‘उहाँ नेपाल आएपछि अमेरिकी पासपोर्ट त्याग्नु भयो । त्यो त्याग गरेको सूचना जिल्ला प्रशासन कार्यालयमा जानकारी नगराएकाले उहाँको विपक्षमा फैसला आएको हो,’ पण्डितले भने।
एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले अहिले विदेशमा बस्ने नेपालीहरु झस्किएको र तर्सिएको धारणा राखिन। ‘धेरै नेताहरुले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्नुस् भनेर मिठा कुराहरु गर्नुहुन्छ । यसमा अब हाम्रो लगानी र सम्पत्ति कसरी जोगिन्छ त ? यो पनि गम्भीर प्रश्न छ।’
उनले बंशजको नागरिकताको निरन्तरताले नेपालको हित गर्नेमा जोड दिइन। बंशजको नागरिक अर्को मुलुक जाने र अंगिकृत नागरिकले देश भरिने अवस्था आउन सक्नेमा उनले चिन्ता व्यक्त गरिन्।
यस्तै एनआरएनएका अर्का अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकता सँगै एनआरएनए ऐन सँगसँगै आउनु पर्नेमा जोड दिए। उनले एनआरएनएका विदेशी श्रीमान वा श्रीमतीलाई कुनै अधिकार नभएको र एनआरएनकार्ड पनि नपाउने गरेको भन्दै त्यसमा सम्बोधन हुनु पर्ने बताए।
एनआरएनएका महासचिव डा हेमराज शर्माले विदेशमा रहेकाहरु नेपालमा गएर काम गर्न नपाउने हो कि आर्थिक आवश्यकताका लागि मात्रै एनआरएनलाई प्रयोग गर्न खोजिएको हो भन्ने प्रश्न गरे।
कार्यक्रमको सभापतित्व गरेका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले सर्वोच्च अदालतको फैसलापछि विदेशमा बसेका नेपालीहरुको मनमा त्रास बढेको बताए।
‘विदेशमा बसे पनि पुरानै नागरिकताका आधारमा नेपालमा पनि धन सम्पत्तिहरु जोड्नु भएको छ, यो सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने विषयमा पनि कुराहरु आउनु पर्छ।’ अध्यक्ष सुवेदीले भने।
यस्तै उनले गैर आवासीय नागरिकताको विषयमा तीन पुस्तासम्मको कुराहरुमात्रै उल्लेख गरिएको र त्यस पछि के हुन्छ भन्नेमा पनि प्रष्ट हुनु पर्नेमा जोडदिए।