५सय ५१ देखि ९ हजारसम्म दक्षिणा दिएर साधुसन्तको विदाई
काठमाडौं । शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा आएका साधु सन्तलाई आज दक्षिणा सहित विदा गरिएको छ ।
शिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुलाई सोमबार ५ सय ५१ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदाइ गरिएको गुठी संस्थानका प्रवक्ता एवं सुचना अधिकारी जनक पोखरेलले जानकारी दिए ।
साधु सन्तहरुकोे वरिष्ठताका आधारमा ५ सय ५१ देखि ९ हजार रुपैयाँ र रुद्राक्षको मालासहित विदा गरिएको हो । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार विदाइ गर्ने चलन छ।
गुठी संस्थानले पशुपतिनाथ मन्दिरमा आएका साधु सन्तका लागि धुनी बाल्नेदेखि, भोजन, दक्षिणा, तथा मन्दिर भित्रको नित्य पुजा सम्मको व्यवस्थापनको काम गुठि संस्थानले गर्दै आएको छ ।
साधुसन्तको व्यवस्थापनदेखि पुजापाठसम्मको काम राम्रोसंग सम्पन्न गरिएको संस्थानका प्रवक्ता पोखरेलले जानकारी दिए । उनले भने
‘यसपाली गत वर्ष भन्दा धेरै साधुसन्त आएको अवस्था छ । उहाँहरुको व्यवस्थापन राम्रोसंग गरेका छौं । महाशिवरात्रीपर्वको भित्रि पुजा पाठको बन्दोबस्त तथा सञ्चालन गुठि संस्थानले गर्छ । बाह्य तयारी पशुपति क्षेत्र विकाश कोषले गर्छ । त्यहाँको सजावट र पुर्वधारको निर्माण तथा व्यवस्थापन कोषले र्गछ । भित्रि पुजा पाठ साधुसन्तको भोजनको व्यवस्थापन, बस्ने ठाउँको व्यवस्थापन र दक्षिणाको व्यवस्थापन गुठि संस्थानले सौहार्दपुर्ण रुपमा सम्पन्न गरेको छ । ’
साधुसन्तको व्यवस्थापनमा कुनै कमजोरी नभएको उनले बताए ।
गतसाल भन्दा अलि बढि मात्रामा साधु सन्त आएकोले भोजनको व्यवस्थापनमा अलि धेरै ध्यान दिनु परेको उनले बताए । त्यस्तै साधुसन्तले दक्षिणा बढाउन माग गर्ने गरेको तर चित्त बुझाएर विदाई गरिएको उनको भनाई छ ।
उनले भने ‘हाम्रो स्रोतले भ्याय सम्म व्यवस्थापन गरेका छौ । उहाँहरुलाई चित वुझाएर दक्षिणा सहित विदाई गरेका छौ ।’
यो बर्ष ३५ सय भन्दाबढी साधु पशुपति आएका छन् । गएको बर्ष भन्दा यो संख्या झण्डै १ हजारले बढी हो । प्रवक्ता पोखरेलले कोरोना महामारी र त्यसको प्रभावका कारण गएको बर्ष पशुपतिको मन्दिरमा २८ सय साधु मात्रै शिवरात्रीमा पशुपति आएका र अहिले भने उनीहरुको उपस्थिती उत्साहजनक रहेको बताए ।