ल्होत्से मलमा भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न कांग्रेस नेता महतको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले, सरकारसँग ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै कांग्रेस प्रवक्ता समेत रहेका सांसद महतले लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘लुटपाटका फुटेज बाहिर आएका छन् तर अहिलेसम्म कुनै कारबाही अघि बढ्दैन । काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सक्दैन भनेदेखि दुरदराजमा बस्ने नागरिकको हालत के हुन हुन्छ ? सरकार गम्भिर हुनुपर्छ र दोषीलाई तत्काल कारबाही गर्नुपर्छ ।’
यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलभित्र पसेर केही व्यक्तिहरूले दुई मोबाइल पसल र मोबाइल रिपेरिङ सेन्टरमा लुटपाट गरेका थिए । यस सम्बन्धि भिडिओहरू पनि बाहिरिएका थिए ।
उनले अराजक प्रवृत्ति फैलिने डरको सुरूवात यस्तै क्रियाकलापहरूले हुने भन्दै तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।