संसदमा योगेशले भने : नेपालमा सडक दुर्घटना भयावह
काठमाडौं । एमाले सचिव तथा सांसद योगेश भट्टराईले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधारसहितको सडक विकास अबको आवश्यकता रहेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सडक दुर्घटनाका कारण ज्यान गुमाउनेमा नेपाल विश्वकै आठौं नम्बरमा पर्ने बताए । दुर्घटनामा ज्यान गुमाउने अधिकांश युवा रहेका उनको दाबी थियो । अकालमा मृत्यु हुने विविध कारण मध्ये सडक दुर्घटना पहिलो रहेको बताउँदै उनले यसलाई रोक्न आवश्यक रहेको उनको भनाई छ ।
डब्लूएचओको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, ‘नेपालमा वार्षिक ४ हजार भन्दा धेरैले सडक दुर्घटनाबाट ज्यान गुमाउँछन् । अकाल मृत्यु हुने कारण मध्ये सडक दुर्घटना पहिलो हो । दुई पाङ्ग्रेबाट मृत्यु हुने ८० प्रतिशत छन् । त्यसमा पनि १६ वर्ष २१ वर्ष उमेर समूहका धेरै छन् । गाडिको कारणले मृत्यु हुनेको संख्या २० प्रतिशत देखिन्छ । यो निकै डर लाग्दो तथ्याङ्क हो ।
संयुक्त राष्ट्रसंघले १९६८ मा विशेष प्रस्ताव पास गरेर इन्टरनेश्नल ड्राइभिङ् परमिट(आईडिपी)को प्रस्ताव अगाडि बढाएको राष्ट्र संघ र रोड सेफ्टि डिकेट भनेर २०२१–३० लाई घोषण गरेपनि त्यसमा प्रभावकारी रणनीति बनाउन नसकेको उनको भनाई छ ।
उनले बैठकमा यातायात व्यवस्था ऐनको संशोधन गुर्नपर्ने, रोड सेफ्टि ऐक्सन प्लान २०२१–३० लाई अगाडि बढाउनु पर्ने, रोड सेफ्टि क्आउन्सिल ऐन बनाउनु पर्ने, हेल्मेटको गुणस्तर जाँच गर्ने, व्यवस्थित फुटपात र अपाङ्गमैत्री सडक बनाउनु पर्ने माग गरेका छन् ।