सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दिएको माधव नेपालको भनाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले, सुदूरपश्चिमबाट एमालेलाई धक्का दिएको टिप्पणी गरेका छन् ।
पार्टी निकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले, सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको र यो सुरुवात मात्रै भएको दावी गरेका हुन् ।
उनले भने, सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो। हौसला बुलन्द गर्नुस् । यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो ।
उनले सुदूरपश्चिमबाट सरकार परिवर्तनको सुरुवात गरिएको भन्दै अब अन्यत्र पनि एमालेलाई सत्ताबाट हटाइने दावी गरेका छन् ।
अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए । नेकपा एस नेपालको राजनीतिको एउटा शक्ति भएको भन्दै नेपाले देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति आफूसँग रहेको दावी गरे ।