छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । ललितपुर, दैलेख, बाँके र पाल्पामा सवारी दुर्घटनामापरी चार जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–४ सानेपा पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री रामेछाप मथली नगरपालिका–५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको प्रहरीले खोजी गरिरहेको छ ।
दैलेख, आठबिस नगरपालिका–३ जाक्सीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ख ३५१८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ५५ वर्षीय तिल बहादुर माझिको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका–३ मदनचोकस्थित सडकमा रा.१ क १३५६ नम्बरको ट्रकले भे.७ प ८४३१ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटर चालक कोहलपुर नगरपालिका–११ बस्ने ३० वर्षीय जय प्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पा, बगनासकाली गाउँपालिका–९ गुनठाँटीस्थित सडकमा लु.२ त ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प ७५७१ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार तानसेन नगरपालिका–१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।