राष्ट्रपतिको चुनावसम्म राष्ट्रिय सहमतिमा बस्ने : देवेन्द्र पौडेल
काठमाडौं । माओवादी केन्द्रले राष्ट्रपतिको चुनावसम्म राष्ट्रिय सहमतिमा अगाडि बढ्ने निर्णय गरेको छ ।
स्थायी कमिटीको शनिवार सम्पन्न बैठकपछि पत्रकारसँग कुरा गर्दै केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नहुँदा विचार र लक्ष्य मिल्ने पार्टीसँग मिलेर जाने निर्णय भएको बताए ।
उनले एमालेलाई बाहिर राखेर केही नयाँ गर्न नखोजेको बताउँदै सहमति गरेर सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए ।
उक्त बैठकमा बोल्दै मओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गृहमन्त्रीको विषयमा केही कुरा नभएको बताएका छन् ।
उनले पार्टी २६ गतेदेखि फिल्डमा जाने र फिल्ड रिपोर्ट अनुसार काम गर्ने आजको मूल निर्णय रहेको बताए । उनले बैठकले दुई महिनापछि सिसिको बैठक बस्ने र सम्पूर्ण निर्णय सिसिले गर्ने निर्णय पनि गरेको बताए ।