निर्वाचन आयोगले सरकारलाई तीन अर्ब रुपैयाँ फिर्ता पठाउने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले सरकारलाई ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षाका लागि शुक्रवार आयोगले गरेको कार्यक्रममा बोल्दै थपलियाले चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको बताएका हुन् ।
‘‘संसदमा एउटा कुरामा विमति व्यक्त गरे । उहाँहरुले निर्वाचन खर्चिलो र भड्किलो हुँदै गयो । निर्वाचन प्रणालीमाथि नै प्रश्न उठ्न थाल्यो भन्ने कुरा गर्नुभयो ।” थपलियाले भने, “यो वर्ष प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि १० अर्ब रुपैयाँ खर्च माग गरेकामा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर झण्डै ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको छ ।’’
उनले निर्वाचन आयोगले ७४ सालमा भन्दा कम खर्चमा निर्वाचन सम्पन्न गरेको पनि बताए छ ।
कुनै व्यक्तिले अर्को पार्टी खारेज गरी पाउँ भनेर निवेदन दिएकै भरमा निर्णय भने नहुने उनको जिकिर छ ।
आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।