घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले यस पटकको ल्होसार सार्वजनिक रुपमा मनाउने
न्यूयोर्क,अमेरिका/ घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले ग्याल्पो ल्होसार २१५० सार्वजनिक रुपमा मनाउने भएको छ। घ्याल्सुम्दो तल्लो मनाङबाट अमेरिका आइ बसोबास गर्नेहरुको संस्था हो ।
मनाङ जिल्लाको तल्लो भागमा बस्नेहरु प्रायसले ग्याल्पो ल्होसार मनाउछन्। अमेरिकमा रहेका तल्लो मनाङका बासिन्दाले न्यूयोर्कमा सामुहिक रुपमा ल्होसार मनाउदै आएकोमा कोरोना महामारीका कारण विगत तीन वर्ष देखि यो रोकिएको थियो।
संस्थाका महासचिव राजु लामाले बुधवार एक विज्ञप्ति जारी गर्दै तीन वर्ष देखि रोकिएको सार्वजनिक कार्यक्रमले यस पटक निरन्तरता पाउने जनाएका छन्।
‘गत तीन वर्ष कोभिड १९ महामारीको प्रकोपले हामी सवैको जीवन कठिन भएको थियो। अन्तत यति लामो अन्तराल पश्चात हामीले ल्होसार कार्यक्रम गर्ने निर्णय गरेका छौ।’ सचिव लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
छेवाचिक फेब्रुअरी २१ र ल्होसार साँझ मार्च ११ तारिक शनिवार हुने छ। दुबै कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको गुल्सन टेरेसमा हुने छ।
उपाध्यक्ष चोन्जोम सी लामाका अनुसार तिथि अनुसार ल्होसार मनाइने दिनलाई छेवाचिक भनिन्न्। “ल्होसार हाम्रो नयाँ वर्ष हो,यो फेब्रुअरी २१ तारिक मंगलवारमा पर्छ त्यो दिन हामी घ्याल्सुम्दो बासिन्दा मात्र भेला भएर विधि र परम्परा अनुसार ल्होसार मनाउछौ।” चोन्जोमले समाज टाइम्स सँग भनिन्,” मंगलवार सबैको अनुकुल नहुन सक्छ त्यही भएर मार्च ११ तारिक शनिवार अन्य समुदाय सँग ल्होसार पार्टी मनाउछौं।”
छेवाचिकमा प्रवेस निशुल्क गरिएको छ। मार्च ११ तारिकको ल्होसार कार्यक्रमका लागि भने ५० डलर टिकट मूल्य तोकिएको छ।