देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ गरिदिएको छ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेलले दिएको रिट निवेदन सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले दरपीठ गरेका हुन् ।
संसदको आन्तरिक विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था भएकाले रिट दर्ता गर्न नमिल्ने रजिष्टार पन्थीको निर्णयमा उल्लेख छ । संसदका कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक विषय भएको बताइएको छ ।
निवेदन लिएर पुगेका अधिवक्ता पोखरेलले कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परामादेश दिनुपर्ने माग गरेका थिए ।