राजेश कर्माचार्य बने अमेरिकी जुडोको ‘कन्टिनेन्टल कोच’

न्यूयोर्क, अमेरिका / नेपाली राष्ट्रिय जुडो टिमका पूर्व प्रशिक्षक राजेश कर्माचार्य यूएसए जुडोको कन्टिनेन्टल कोच बनेका छन्।
अमेरिकी जुडोको आधिकारीक निकाय यूएसए जुडोले उनलाई कन्टिनेन्टल कोचको मान्यता दिएको हो।
यूएसए जुडोले रिजनल,स्टेट,नेश्नल,कन्टिनेन्टल र अन्तर्राष्ट्रिय गरि पाँच तहमा प्रशिक्षक लाइसेन्स दिदै आएको छ।
कर्माचार्य सन् २०१४ देखि अमेरिकामा छन्। उनले सन् २०१६ मा युएसए नेश्नल कोचको मान्यता पाएका थिए।
यूएसए जुडोको हेडक्वाटर कोलोराडोले यसै महिना कर्माचार्यलाई अपग्रेट गरेको हो। कोचमा अपग्रेट हुन् फिजिकल र लिखित परिक्षा पास गर्नु पर्ने हुन्छ।


कर्माचार्यले अहिलेको सफलताले अमेरिकामा स्थापित जुडो प्रशिक्षक हुने आफ्नो लक्ष्यलाई टेवा पुग्ने बताए।
‘रेफ्रिको रुपमा त म निरन्तर लागि नै रहेको छु, अहिले पाएको अपग्रेटले अब अमेरिकामा प्रशिक्षकको रुपमा पनि मलाई स्थापित गरेको छ त्यसमा खुसी छु।’ समाज टाइम्स सँगको कुराकानीमा कर्माचार्यले भने।
कर्माचार्यले इन्टरनेश्नल जुडो फेडरेशन (आइजेएफ) बाट भने यस अगाडि नै इन्टरनेश्नल कोचको मान्यता पाइसेकका छन्।
सन् २०१९ आइजेएफले उनलाई अन्तर्राष्ट्रिय कोचको लाइसेन्स दिएको थियो। कर्माचार्यले आइजेएफ एकेडेमीबाट पहिलो र दोस्रो तहको कोचिङ कोर्ष पुरा गरि लाइसेन्स समेत पाइसकेका छन्।
उनी भारतको पटियलाबाट एक बर्षे कोचिङ्ग कोर्ष डिब्लोमा गर्ने प्रशिक्षक हुन्। उनी पटियाला डिब्लो गर्ने नेपाली प्रशिक्षकमा सर्वाधिक अंक ल्याउने व्यक्ति हुन्।
कर्माचार्यले सन् १९९५ देखि २०१४ सम्म पटक पटक नेपाली राष्ट्रिय जुडो टिमको प्रशिक्षक थिए। कर्माचार्यको प्रशिक्षणमा नेपालले साफमा रजत र जुनियर एशियनमा काश्य पदक जितेको छ। उनको प्रशिक्षणमा रहेको पर्सा वीरगञ्जले १२ पटक राष्ट्रिय च्याम्पियनसिपमा टिम च्याम्पियन जितेको थियो।


