अमेरिकामा सर्वाधिक चर्चित खेल सुपर बलमा नेपाली म:म बेचिदै
बिष्णु हरि घिमिरे
पेन्सिलभेनिया, अमेरिका / तपाई लामो समय देखि अमेरिकामा हुनुहुन्छ भने सम्भवत: सुपर बलको बारेमा परिचित नै हुनुहुन्छ होला । सुपर बल विश्वको सबैभन्दा धेरै हेरिने मध्येको खेलमा पर्दछ।
अमेरिकी राष्ट्रिय फुटबल लीगको च्याम्पियन छनौट गर्ने खेललाई सुपर बल भनिन्छ। सुपर बलले अमेरिकी इतिहासमा सबैभन्दा धेरै हेरिएको टिभी प्रसारणको इतिहास बनाएको छ। सन् २०१५ मा एक सय १४ दशमलव चार मिलियन दर्शकले सुपर बल हेरेको रेकर्ड छ।
अमेरिकनहरु सुपर बल भने पछि भुतुक्कै हुन्छन्। खेल खेलिएको दिनलाई प्रायः “सुपर बल आइतबार” वा “सुपर आइतबार” भनिन्छ। सुपर बलको दिन अमेरिकामा उत्सवको रूपमा विकसित भएको छ । मुलुकभर घरहरू, रेस्टुरेन्टहरूमा पार्टी सहित सुपर बल हेर्ने गरिन्छ।
यो वर्षको सुपर बाउल फेब्रुअरी १२ तारिक एरिजोनाको ग्लेन्डेल स्थित स्टेट फार्म स्टेडियममा हुने छ।
विश्व खेलकुदकै अर्थतन्त्रमा कयौ रेकर्ड राखेको सुपर बलको आगामी संस्करणमा अर्को रेकर्ड रहने छ, त्यो हो इतिहासमै पहिलो पटक सुपर बलमा नेपाली खाना म:म ले प्रवेस पाउने छ।
डाक्डर पढ्न अमेरिका आएको एक युवाको ‘पागलपन’ ले यो सम्भव भएको हो। अमेरिकी खेलकुदको महासङ्ग्राममा एरिजोना फिनिक्समा मिस्टर म:मले प्रख्यात सुभास यादवले यो अवसर पाएका छन्।
हुदाँ खादाको एक लाख अमेरिकी डलर तलव आउने जागिर छोडेर सडकमा ठेलामा (फुड्स ट्रक) म:म बेच्दै आएका सुभास अब सुपर बलमा आउने दर्शकलाई नेपाली खानाको परिचय गराउने छन्। जहाँ फेब्रुअरी दोस्रो साता लाखौंको भीड लाग्ने अनुमान गरिएको छ।
को हुन सुभास यादव
पछिल्लो समय नेकपा माओवादी प्रवेस गरेका रामेश्वर राय यादव र पूर्वशिक्षिका गायत्री यादवका माहिला छोरा हुन् सुभास। सर्लाहीको मलंगवामा जन्मिएका सुभासले तीन कक्षा देखि एसएलसी सम्म काठमाडौंको बानेश्वरमा रहेको लोयला स्कूलमा पढे।
उच्चशिक्षाका लागि उनी दुई वर्ष भारत गए। त्यस पछि सन् २००७ मा अमेरिका हानिए। मान्छेले लेखेको भोग्नु पर्छ देखेको होइन। बाहिरी लक्ष्य चिकित्सक बन्ने थियो तर भित्र-भित्रै अन्य कुरा पाकिरहेको थियो।
काठमाडौं छोड्दा डाक्टर पढ्ने भन्ने थियो तर अमेरिकाको मिनेसोटामा ओर्लिए पछि उनले खाध्य विज्ञान (फुड्स साइन्स)को किताब समाते। ‘साउथ वेष्ट मिनेसोटा स्टेस विश्वविद्यालयमा कुलीनोलजी (पाक कला, खानाको विज्ञान र प्रविधिको मिश्रण) कोर्ष पुरा गरे।
२०१२ तिर कलेज सकिए पछि मिनेसोटामा कर्पोरेटमा काम पाए। बार्षिक लगभग ६० हजार अमेरिकी डलर तलब थियो। फुड्स टेक्नोलिजामा काम गरे। नयाँ उत्पादनमा आए पछि त्यसमा हुने न्यूटेशन, प्याकेजीङ्ग, क्वालिट आदीको निरिक्षण गर्नु पर्ने उनको जिम्मेवारी थियो। तर चञ्चल मन मिनेसोटामा धेरै समय टिक्न सकेन। सन् २०१४ मा उनी एरिजोना हानिए।
त्यहाँ पनि उनले चेज बैकको क्याफेटेरियामा फुड्स सर्भिस डिरेक्टरको काम पाए। बार्षिक एक लाख डलर तलव थियो। न्यूटेशन विज्ञको रुपमा काम गर्नु पर्ने ।
पैसा थियो, सुविधा थियो, घर-गाडी, श्रीमति सहित साप्ताहिक विदामा घुमघाम सबै थियो, तर मनमा सन्तुष्टि थिएन, छटपट हुन्थो, केही पुगि रहेको छैन भन्ने, आफ्नै सपनालाई पछ्याइरेको मान्छे। खालिपना भरिएको थियो,मनमा।
शुरु भयो जागिर छोडेर ठेलामा म:म बेच्न
२०१८ मा उनले एउटा अठोट लिए ‘आफै व्यवसाय गर्छु’ । त्यसको एक वर्ष पछि ठूलै जोखिम उठाए। हुदाँ खादाको जागिर छोडे। नेपालमा नेताको छोरो, अमेरिकामा ठेलामा मम बेच्न सडक पेटीमा निस्किए त्यो पनि श्रीमती सहित।
‘मैले समाजका लागि केही दिन सकेको छैन भन्ने लागेको थियो। त्यो भित्र खाली पना हुन्छ नी त्यो भरिएको थिएन। चार वर्ष काम गर्यो, ६०-७० घण्टा काम गर्दा बोनशहरु आए पनि मैले अरुको लागि काम गरि रहेको थिए, समुदायका लागि कुनै प्रभाव पारेको थिइन।’ सुभासले भने।
‘मेरो उद्देश्य खानाबाट मान्छेलाई खुसी बनाउने थियो । भोक मेटाउने मात्र होइन सन्तुष्टि पनि दिनु पर्छ भन्ने थियो। कर्फोरेटमा फुड्स सर्भिस डिरेक्टर थिए। तर समाजमा केही प्रभाव पार्न सकेको छैन भन्ने लागि रहेको थियो जागिर छोडे र मेरो सपनालाई पछ्याउने निर्णय गरे।’
‘बिल्कुल फरक हो तर होइन, मैले मेडिकल पढ्नुको कारण म दयालु मान्छे हो शुरु देखि नै मैले डाक्टर पढ्छु भनेको पनि जनताको हेरचाह गर्नकै लागि हो।’ समाज टाइम्स सँगको कुराकानीको लगभग आधा घण्टा पछि खुल्न थालेका सुभासले भने,’अमेरिका आएपछि फुड्स साइन्सको बारेमा पढेपछि ओहो फुड्स उद्योगमा भविष्य छ भन्ने लाग्यो झनै पढ्दै जादा न्यूटेशनको कुरा पनि थियो फूड्स साइन्समा।’
‘खाना पकाउन मेरो बच्चा देखिकै शोख हो, मेरो हजुर आमा, आमा सबै जना खाना पकाउन शौखिन हुनुहन्थो, तर यसैमा भविश्य छ भनेर कहिल्यै कुरा निस्कदैन थियो त्यो आइडिया पनि थिएन, यहाँ आएर थाहा पाए। मैले यो क्षेत्रमा केही गर्न सक्छु भन्ने भो।’ खाइपाइ आएको काम छोडेर सडकमा किन भन्ने प्रश्नमा सुभासको जवाफ थियो।
अझै युवा नै छु बालबच्चा पनि छैनन केही गर्न सक्छु भन्ने सोच सहित ट्रक लिएर सडकमा आए सुभास पहिलो वर्ष नै फिनिक्समा उत्कृष्ठ फुड्स बेच्ने मध्येमा परे।
सुभासले चालिस हजार अमेरिकी डलर लगानी गरेर ठेला-ट्रकमा मम बेच्न शुरु गरे ।
निर्णय लिन गाह्रो
सुभासलाई अहिले पनि सम्झना छ । उनका हरेक निर्णयले परिवारलाई बिझाएको थियो। मेडिकल छोडेर फुड्स साइन्स पढ्न थालेको खवर सुनाउना साथ उनका बाबा अस्पताल भर्ना भएछन्। तनाव बढी भएर । बाबुलाई लाग्यो छोरो बिग्रियो।
बाले अमेरिका छोडेर तत्काल नेपाल आउन भने तर सुभाष आफ्नो निर्णयमा अडिक भए। मेडिकल छोडेर खाध्य विज्ञान अध्ययन गर्दा त बाबुको त्यो प्रतिक्रिया थियो भने अहिले त ठेलामा म:म बेच्न हिडेको।
परिस्थितिलाई सुभास आफै ब्याख्या गर्छन्,’अब भन्नुस त नेताको छोरा फुड्स साइन्स डिरेक्टर भइसकेको मान्छे ठेलावाला भइरहरेको छु। नेपालमा त त्यसरी नै मूल्याङ्कन भयो नी’ कुराकानीकै क्रममा उनले अगाडि थपे,’तर मैले त्यस्ता टिप्पणीको वास्ता नै गरिन ‘आइ हाइभ विग गोल यु नो’ कन्ट्रिलाई रिप्रेन्जेट गर्नु छ, कुजिनलाई रिप्रेजेन्ट गर्नु छ, नेपाली खाना भनेर नेपाल इज अल एबाउट एभरेष्ट नेपाल इज ग्रेट कलिनरी हिस्ट्रि (नेपालको महान पाक इतिहास छ) एण्ड डेभर्ससिटी खानाको पनि पहिचान छ। विषेश गरि म:म।’
‘बा ले पनि मेरो कामको बारेमा कसै सँग कुरा गर्नु हुन्थेन। परिवारमा मेरो कामको बारेमा कुरै हुदैन थियो लाज मानेर तर मलाई त्यो कुराले कुनै प्रभाव पार्दैन थियो।’ उनी थप्छन्, ‘मेरो बारेमा अरुले के सोच्छ भन्ने कुराले मलाई कहिल्यै पीडा भएन तर परिवारको सहयोग केही फरक चै पर्ने रहेछ।’
साथीभाइबाट ‘ह्या.. के मम बेचिरा… भन्या जस्तो पनि भयो सबै जनाले कहाँ त्यत्रो पढेको मान्छे त्यस्तो घरबाट आएको मान्छेले म:म बेच्ने पनि भने तर म:मले मान्छेलाई खुसी दिन्छ म त्यो खुसी बाड्न चाहान्छु। सुभाषले मनमनै मनन गरे।
‘तर मेरो उद्देश्य प्रष्ट थियो सधै अझै पनि प्रष्ट छ मलाई थाहा थियो म को हु र के गर्दै छु भन्ने’
शुरुमा उनलाई धेरै चुनौति थियो । २०१९ मा राम्रै भयो, दुई जना कामदार नै राखे । २०२० मा त उनले रेष्टुरेन्ट नै खोले भ्यालीमा नै उत्कृष्ट दशमा पर्न सफल भयो । तर कोभिडले गर्दा बन्द गर्नु पर्यो ।
‘म र मेरो पूर्वश्रीमती किचन टेबलमा बसेर रातभरी म:म बनाउथ्यौ दिउँसो बेच्थौ, हातले नै बनाउथ्यौ।’ शुरुवाती दिनको उनी स्मरण गर्छन्।
पहिलो दिन एक सय बीस डलरको म:म विक्रि भएको सुभासलाई अझै सम्झना छ।
महिनौ सम्म लगानी उठ्दैन थियो । एक सय १५ डिग्रिमा पनि ट्रकमा काम गर्नु परेको थियो एरिजोना त्यसै पनि गर्मी ठाँउ।
‘चाहेको कुरा गर्न केहीले पनि छेक्दो रहेनछ मलाई पनि त्यस्तै भयो । कोभिडको बेलामा धेरै नै घाटा भयो। २०२१ मा त श्रीमति सँग पनि सम्वन्ध विच्छेद भयो।’
किन ?
‘जीवनको गोल फरक भयो र अलगबाटो हिड्ने निर्णय गर्यौ नराम्रो तरिकाले डिभोर्स भएको होइन। अहिले पनि हामी साथी छौ, उ अहिले पनि मेरो विगेष्ट सपोटर्स हो। तर हाम्रो पर्सानलिटी चै फरक छ।’
अब सहज हुँदै
शुरुका दुई वर्ष गाह्रो भए पनि अब राम्रो हुदै छ। बार्षिक ४० देखि ६० प्रतिशत व्यापार बढ्दै गएको छ। कम्पनीमा काम गर्दा जस्तो कमाई त छैन तर सन्तुष्टि छ।
‘म जीवनमा अहिले अरु केही गर्छु भनेर सोच्न पनि सक्दिन। म अहिले जस्तो खुसी कहिले पनि छैन्।’ सुभास थप्छन्।
‘सस्तो सामान बेच्छु पैसा कमाउँछु भन्ने थिएन । स्थानीय समुदाय सँग घुलमिलमा छु । स्थानीय किसानको सामान सोझै खरिद गर्छु अर्गानीक खाना हुन्छ’ सुभासले भने। ‘मासु पनि स्थापित प्रतिष्ठित ब्राण्डकै प्रयोग गर्छु समाजिक दायित्व बारे मलाई जानकारी छ। खानाको रेसिपी बनाउँदा म विषेश ध्यान दिन्छु।’
अहिले उनको ट्रकमा दश जनाको टिम छ। कामदार भन्दैनन उनी । टिम मेम्वर भन्छन्।
फार्मस मार्केटमा टेन्ट राखेर पनि म:म बिक्रि हुन्छ ग्राहकले मन पराएका छन्।
शुरुमा हातले बनाएर बेच्चे गरेको थिए पछि जापानबाट मेशिन नै मगाए । मेशिनले एक घण्टामा पाँच छ सय म:म बनाउन थाल्यो । दिनमा दुई हजार भन्दा बढी बिक्री हुन थाल्यो ।
अहिले दिनमा नै ६ हजार भन्दा बढी बिक्री हुन्छ। ट्रक फरक फरक लोकेशनमा रहन्छ।
फुड सेफ्टीका कारण म:म किचनमा बनाउने गरेका छन् । अहिलेको नयाँ मेशिनले घण्टाकै पाँच हजार बनाउँछ ।
भेज म:म पनि बिक्री हुन्छ र भाङ्ग गेडा र सूर्यमुखीले अचारले म:मलाई झनै स्वादिलो बनाएको छ।
‘भेज म:म र चिकेन म:ममा प्रोटिनको मात्र उस्तै उस्तै दुबै चार सय पचास क्यालोरी भन्दा कमी छ। भाङ्गले मिठो बनाउँछ भने पाचनमा पनि सजिलो हुन्छ, अर्गानिक खाना बेच्छु मासु पनि।’ उनको म:मलाई ग्राहकले मन पराउनुको रहस्य सुभासले यसरी खोले।
सुपर बलमा कसरी
लोकल फस्ट एरिजोना भन्ने संस्था छ सुभास त्यसको सदस्य थिए। सुपर बल एरिजोना आउने भएपछि स्थानीय व्यवसायीलाई पनि मौका दिने भएछ।
सुभासले भने,’म आफै पनि सोचिरहेको थिए । सुपर बलमा म:म बेच्न पाए त । कसरी सम्भव होला भन्ने लागेको थियो । भोलि पल्ट इमेल आएको रहेछ। तिमी रङ्गशालामा म:म बेच्ने हो?’
त्यस्तो इमेल पाउने मध्ये ६ सयले दरखास्त हालेका रहेछन् । ती मध्ये तीस जना छनौट भए जसमा मिस्टर म:म अर्थात सुभासको कम्पनी पनि छनौट भयो ।
सुपर बल एक्सपेरियन्स चार दिनको इभेन्ट छ त्यहाँ ट्रक राख्न पाइन्छ।
‘सुपर बलमा पहिलो पटक नेपाली व्यवसायी छनौट भएको छ । विश्वकै धेरै दर्शक भएको गेममा । यो नै ठूलो कुरा हो । मैले जुन अवसर पाएको छु मेरो टिम उत्साहित छ।’ सुभासले यसै इभेन्टका लागि स्वयम् सेवक सहित २५ जनाको टिम तयार पारेका छन् ।
‘अहिले बीस हजार पीस बेच्दै छु । साँच्चि भन्नु पर्दा त्यो बेला कति म:म बेच्ने भन्ने म सँग कुनै आइडिया नै छैन। सुपर बलमा बार्बक्यु, हटडग अमेरिकन फुडको लत लागेकालाई म:म चखाउनु छ, दैनीक दुई हजारलाई खुवाउछौ होला भन्ने छ ।’
त्यो समयको व्यापारमा हुने नाफाको ३५ प्रतिशत सुपर बलले लैजान्छ । सुभासले अहिले मार्केटिङ र ग्राहकको अनुभव लिने अनुभव बनाएका छन् । ‘ग्राहकलाई सन्तुष्टि दिलाउनु पहिलो काम हो। आर्थिक रुपमा मलाई लाग्दैन धेरै फाइदा हुन्छ होला तर त्यहाँबाट जुन अनुभव प्राप्त हुन्छ र एक्पोजर त्यसको लागि धेरै फाइदा हो।’
अहिले सुपर बल कै तयारीमा व्यस्त सुभासले यो वर्षको अन्तमा अर्को दुई रेष्टुरेन्ट खोल्ने योजना बनाएका छन् ।
सुपर बलमा आफ्नो म:मको ठेला छनौट भएको कुरा उनले बाबासँग सेयर गरिसकेका छन् । ‘अहिले निकै खुसी हुनु भएको छ । फक्स टेनको समाचार हेरे पछि उहाँलाई छोरो भुईमा सुत्नु परेको छैन भएको छ ।’ हुन पनि सुभास अहिले स्थानीय समाचार माध्यमका लागि गतिलो कन्टेन बनेका छन् । साथ साथै नेपाल र म:म पनि अमेरिकी मुलधारको मिडियामा समाचार बनेका छन् ।