इन्ट्रा फाउनण्डेशनको ल्यानक्यास्टरमा निशुल्क नृत्य तथा गायन प्रशिक्षण, शंखर बिसी र पार्वती राईले सिकाउने
पेन्सिलभेनिया, अमेरिका / पेन्सिलभेनियाको ल्यानक्यास्टरमा निशुल्क नृत्य तथा गायन प्रशिक्षण हुने भएको छ। इन्ट्रा फाउण्डेशन अमेरिकाले यो अवसर जुराउन लागेको हो ।
फ्रुटभिल पाइकमा रहेको इन्ट्रा नेशनल होमकेयरको भवनमा (1361 Fruitville Pike Lancaster PA 17601) निशुल्क नृत्य तथा गायन प्रशिक्षण हुने भएको हो ।
प्रशिक्षणको आइतवार आयोजित एक कार्यक्रमका बीच इन्ट्रा फाउण्डेशनका कार्यकारी निर्देशक चुणामणी भट्टराईले उद्घाटन गरे।

‘यो कक्षा शुरु गर्नुमा हाम्रो उद्देश्य छ, हाम्रो समुदायमा सामुहिक भावनाको विकास होस, हाम्रा बच्चाहरुले पनि सामुहिक भावनालाई अगाडि बढाउन सकुन् भन्ने हाम्रो चाहाना छ, रिवन काटेर प्रशिक्षणको उद्घाटन गरे पछि कार्यकारी निर्देशक भट्टराईले भने, ‘यस्ता कक्षाहरुबाट त्यसको विकास हुन्छ भन्ने हामीलाई लागेको छ।’
भट्टराईले नेपाली भाषा, कला संस्कृतिको पुस्तान्तरणका लागि पनि आफुहरुको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
‘यसमा अर्को ठूलो पक्ष छ त्यो भनेको नेपाली भाषा कला संस्कृतिलाई हाम्रो पुस्ताबाट हाम्रो बच्चाको पुस्तामा कसरी स्तान्तरण गर्ने त्यसको सबै भन्दा ठूलो अवसर हुन सक्छ फाउण्डेशनको अध्यक्ष डिल्ली अधिकारीले त्यो सोच राख्नु भएको छ, भट्टराईले अगाडी भने, ‘हामीले पनि त्यसलाई अगाडि बढाउने अभियानमा छौ हाम्रो भाषा संस्कृति हामी सँगै नसकियोस भन्ने हो।’
कार्यकारी निर्देशक भट्टराईका अनुसार इन्ट्रा फाउण्डेशनले ओहायोको कोल्मबस, पेन्सिलभेनियाको ह्यारिसबर्ग, सिनसियाटीमा पनि निशुल्क नृत्य तथा गायन प्रशिक्षण संचालन गर्दै आएको छ।
उनले कार्यक्रम सफल पार्न अभिवभावकहरुलाई पनि सहयोग गर्न अपिल गरे।
उद्घाटन कार्यक्रममा गायक प्रशिक्षक मुस्कान बलमपाखीले गायन प्रशिक्षणको बारेमा जानकारी गराएका थिए। यस्तै गरि इन्ट्रा फाउण्डेशनका सदस्य तथा कराते प्रशिक्षक रायन धिमालले सहभागिलाई धन्यावद दिएका थिए।
यस्तै उद्घाटनमा ल्यानक्यास्टर र ह्यारिसबर्गका बालिकाले सुन्दर नृत्य समेत प्रस्तुत गरेका थिए।


निशुल्क नृत्य तथा गायन प्रशिक्षणको नियमित कक्षा डिसेम्बर १६ तारिक शुक्रवारबाट शुरु हुने जनाइएको छ। नृत्यमा चर्चित हस्ति शंखर बिसी र पार्वती राईले प्रशिक्षण दिने छन्। यसै गरि गायनमा मुस्कान बलमपाखीका साथै जीवन गुरुङले प्रशिक्षण दिने छन्।
प्रशिक्षणको ल्यानक्यास्टर संयोजकमा दावा तामाङ, भानु धिमाल र तिलचन धिमाल रहेका छन्।
संयोजक तामाङका अनुसार तत्कालका लागि हप्ताको एक दिन कक्षा संचालन गरिने छ। ‘केही महिना पछि आवश्यकता अनुसार कक्षा संचालनको दिन थप गर्ने छौ।’ समाज टाइम्स सँगको कुराकानीमा तामाङले भने।
उनका अनुसार हरेक शुक्रवार साँझ पाँच देखि ६ बजे सम्म कक्षा हुने छ। ६ वर्ष उमेर माथिका जो कोहीले पनि प्रशिक्षणमा भाग लिन पाउने छन्।
प्रशिक्षणमा भाग लिनु अगाडि दरखास्त फारम भर्नु पर्ने हुन्छ। कुनै शुल्क लाग्दैन। संयोजक तामाङका अनुसार फारमका लागि कार्यलयमा सम्पर्क गर्न सकिने छ।























