घट्दै नेपाली माटोको उर्वराशक्ति
काठमाडौं । नेपालमा माटोको उर्वरा शक्ति क्षयीकरण हुँदै जाँदा कृषि प्रणालीमा गम्भीर संकट आउने भएको छ । रासायनिक मलको अत्यधिक प्रयोग, पीएच भ्यालुमा आएको गिरावट, पोटास तत्त्वमा निरन्तरको कमी आदि कारणले उर्वरा शक्ति घट्दै गएको कृषि विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
३० हजार नमुना परीक्षण गर्दा ४०/४५ प्रतिशत माटो मात्रै तटस्थ प्रकृतिको पाइएको छ । ‘खेतीयोग्य जमिन २९ लाख हेक्टर हो, माटोको डिजिटल नक्साअनुसार खेतीयोग्य जमिनको ५०/५५ प्रतिशत माटो अम्लीय प्रकृतिको छ ।
४/५ प्रतिशत क्षारीय र ४० प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ,’ विभागका महानिर्देशक रेवतीरमण पौडेल बताउँछन् । उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुन्छ । तर, गुणस्तरमा आएको गिरावटले राम्रो संकेत नगरेको उनी बताउँछन् ।
त्यस्तै, माटोको नमुना परीक्षण विश्लेषण गर्दा ४०/४५ प्रतिशत माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून देखिएको छ । ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको विभागले जनाएको छ ।
प्रांगारिक पदार्थलाई माटोको आधारका रूपमा लिइन्छ । उत्पादनशील माटोमा प्रांगारिक पदार्थको मात्रा ३/५ हुनु आवश्यक छ । तर, तराई क्षेत्रको अवस्था नाजुक रहेको महानिर्देशक पौडेलले बताए । ‘सामान्यतया प्रांगारिकको मात्रा ३ देखि ५ प्रतिशत हुनुपर्ने हो तर तराईमा करिब १ प्रतिशत मात्रै छ,’ उनले भने ।
त्यस्तै, मुलुकमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून छ । ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले जनाएको छ ।
फस्फोरस तत्त्व भने तुलनात्मक रूपमा राम्रो पाइएको छ । जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको जनाएको छ ।
पोटास तत्त्वको मात्रा भने तीव्र गतिमा घटिरहेको छ । जसमध्ये ५० प्रतिशतमा न्यून, २६ प्रतिशत मध्यम र २४ प्रतिशतमा अधिक पाइएको महानिर्देशक पौडेलले बताए ।
बालीबिरुवाका लागि आवश्यक हुने सूक्ष्म खाद्य तत्त्वहरू जिंक, मोलिब्डेनम र बोरनको मात्रा पनि न्यून देखिएको छ ।