मुद्दाको किनारा नलागे सम्म सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
काठमाडौं । नाबालिका जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले शुक्रवार सकिएको थुनछेक बहस पछि सो आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।
एक किशोरीले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।