नेपालको संसदीय निर्बाचन र मतदाताको जिम्मेवारी
टेक्सास, अमेरिका / अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘काम एउटै गरिरहनु तर फरक परिणामको अपेक्षा गर्नु’ दिवालियापन हो। अर्थात् परिणाम फरक वा गतिलो निकाल्न काम पनि फरक र गतिलो तरिकाले गर्नु पर्छ। आफ्ना अघिल्ला कामले गतिलो परिणाम दिएको छैन भन्ने जाने पछि त्यसको समिक्षा गरेर नयाँ तरिकाले काम गर्नु पर्छ। नेपालका मतदाता वा नेपाली जनताहरुको काँधमा यतिबेला त्यस्तै जिम्मेवारी आएको छ।
पञ्चायत व्यवस्था गएको पनि ३३ बर्ष भैसक्यो। यो करिव साढे तीन दशकको अवधिमा नेपाल र नेपालीहरुको जीवनमा गुणस्तरिय परिवर्तन आएको छैन भन्न कुनै बिज्ञ हुन पर्दैन। युवाहरुको पलायन, उपभोग्य सामग्रीहरुमा आयात निर्भरता, विकासका आधारभूत कुराहरुको गुणस्तरहिनता यसको ज्वलन्त उदाहरणहरु हुन्। विदेश पलायन उन्मुख शिक्षा प्रणाली, कृषि प्रधान देशमा कृषिमै परनिर्भरता, स्वतन्त्रता र स्वच्छन्दताको पहिचान गर्न नसक्ने समाज जस्ता कुराहरुले नेपालको आर्थिक दुरावस्था, मौलिक पहिचान र संस्कारमा समेत ठूलो विचलन देखिएको छ।
जसले जे भने पनि नेपालका वर्तमान राजनीतिक दलहरुले सामाजिक, आर्थिक, राजनीतिक मुद्धाहरुमा आफुलाई असफल बनाइसकेका छन्। समयले स्वतः ल्याउने विकास बाहेक द्रुत गतिमा नहुँदा नेपालीहरुले गुणस्तरिय परिवर्तनको अनुभूति गर्न सकेका छैनन्। बहुदल आयो, गणतन्त्र आयो तर जनताको जीवनस्तर झन कस्टकर र गुणस्तरहीन बन्दै गएको छ। कांग्रेस, कम्युनिष्ट र पन्च सबैलाई देखे भोगेका नेपाली जनता एउटा हुरीको पर्खाइमा रहेको देखिन्छ। उनीहरुले लामो समय देखि आफ्नो मत अलपत्र पार्दै त्यसको दुरुपयोग भएको टुलुटुलु हेर्दै आएका छन्।
यहि व्यवस्था, यहि प्रणाली, यहि संस्कार, यहि शैलीमा गरिने चुनाव र यसमा भएका उम्मेदवारहरुबाट समाज र देशको कायापलट हुने कल्पना पक्कै पनि गर्न सकिन्न। हामीले भोगेको विगत हेर्ने हो भने ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ हुँदै आएको छ। प्रजातन्त्र र लोकतन्त्रको लागि वर्षौ जेलनेल खाएका देखि ज्यानकै बाजी थापेर लामो युद्ध गरेर आएकाहरु समेत असफलता, विकृति र विसंगतिको कर्मद्वारा डामिइसकेका छन्। ठूला भनिने राजनीतिक दल देखि साना दलहरु समेत जनतालाई आशा देखाउने नैतिक धरातल गुमाइसकेको अहिलेको अबस्थामा नेपाली जनताको आशाको त्यान्द्रो यिनै दलभित्रका केहि गतिला उम्मेदवारहरु, नयाँ खोलेका दलहरुका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुमा अडेको छ।
आन्दोलन वा क्रान्तिको तत्काल सम्भावना नदेखिएको अबस्थामा यहीं भित्रबाट सानासाना परिवर्तनबाट चित्त बुझाउनु पर्ने बाध्यता नेपाली जनताको छ। त्यसको लागि आवधिक निर्बाचन र त्यसमा जनताको बुद्धिमत्तापूर्ण सहभागिता अनिबार्य हुन आउँछ। त्यसको पहिलो खुड्किलो भनेको आफ्नो निर्बाचन क्षेत्रमा रहेका उम्मेद्वारहरु मध्ये सबभन्दा गतिलोलाई मतदान गर्नु नै हो। यसमा आफ्नो पार्टी, आफ्नो जातको, आफ्नो क्षेत्रको भन्ने साँघुरो दायराबाट बाहिर निस्केर समग्र देशको प्रतिनिधित्व गर्न सक्ने इमान्दार, कर्मठ, सक्रिय, बिबेकशील र भिजन भएको व्यक्तिलाई मतदान गर्नु नै आफ्नो मतको सहि सदुपयोग गर्नु हो।
गतिलो उम्मेदवारले जित्दैन कि भनेर कमसल उम्मेदवारहरुलाई मतदान गर्नु मतको दुरुपयोग गर्नु हो। ब्यकिगत लाभ वा हानीलाई आधार मानेर मतदान गर्नु समाजलाई गलत मार्गमा लैजान मतदान गर्नु हो। यसो गर्दा आफ्नो घर त राम्रो होला, आफु हिड्ने सडक, आफ्ना बच्चाहरुले पढ्ने बिद्यालय, आफु बस्ने समाज खराव र विकृत हुन्छ जसले अन्तत्वगत्वा तपाईंको घर राम्रो हुनुको कुनै अर्थ हुँदैन। तपाईंको एउटा मतले उत्पादन गरेको खराब नेताले हामी र हाम्रो समाजलाई गर्ने हानी कुनै व्यक्ति वा समुहको स्वार्थ भन्दा कैयौं गुना बढी हुन्छ। क्षणिक रुपमा फाइदा भए पनि अन्तत्वगत्वा खराव नेताले हरेक नागरिकलाई हानी नै गर्छ।
त्यसैले यो नेपाली जनताको परिक्षा हो। अन्यत्र जस्तो यो परिक्षामा प्रश्नहरु कडा पनि नहुन सक्छन। चार पाँच वटा विकल्प मध्ये उत्तम बिकल्प रोज्न त्यति गार्हो नहुन सक्छ। मतदानस्थलमा जाँदा पार्टी, जाती, क्षेत्र वा अन्य कुनै संकिर्णताको चस्मा खोलेर जाने हो भने बिकल्प रोज्न धेरै सजिलो हुनसक्छ। गतिलो उम्मेदवार जिताउने जिम्मा मेरै हो भनेर उपलब्ध मध्ये गतिलो उम्मेदवारहरुलाई मतदान गर्ने हो भने मात्र परिक्षामा पास भइन्छ। नत्र अरुले परिवर्तन गरिदेला, अन्यत्रबाट गतिलो मान्छे आउला भनेर आश गर्ने हो भने आश गर्दा गर्दै सास जान सक्छ।
त्यसैले समयमै विचार पुराएर मतदान गरौँ, आफ्नो हातमा रहेको हतियारलाई सहि बेला र ठाउँमा प्रयोग गरौँ। यो अवसर आइरहन्न, आएको मौका फर्किन्न बगेको खोला फर्किन्न। चेतना र बिबेकको प्रयोग गरेर मतदान गर्ने हो भने अर्को पांच बर्ष पछुताउँदै बिताउन पर्दैन।