जोशीको शरीर अस्पतालमै राखिने
दीर्घजीवनको रहस्य बुझ्न सहयोगी हुने
काठमाण्डौ । ‘मेरो दीर्घजीवनमा मेरा अंग प्रत्यंगहरुले कसरी काम गरे भन्ने स्वास्थ्य विज्ञानका विद्यार्थीहरुलाई काम लाग्न सक्छ । मेरो शरीरको उपयोगिता मेरो मृत्युपछि पनि होस् ।’ भन्ने इच्छाअनुसार शताब्दी पुरुष जोशीको शरीर अध्ययन र अनुसन्धानका लागि अस्पतालमै राखिने भएको छ ।
पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए ।
अध्ययनका लागि उहाँको शव किस्ट मेडिकल कलेजमै राखिनेछ ।
विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन सातादेखि उपचाररत जोशीको आज बिहान निधन भएको हो । उहाँ १०३ वर्षका हुनुहुनथ्यो ।
किष्ट अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले शताब्दी पुरुष जोशीको निधन भएको पुष्टि गरेका छन् ।
जोशी ७ असोजमा किष्टमा भर्ना हुनुभएको थियो । उहाँमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उहाँलाई डेंगु पनि पुष्टि भएको थियो ।
शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ । उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् ।
उहाँ काव्यकार, नाटककार, कथाकार, निवन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध हुनुहुन्थ्यो भने लोक साहित्य, लोक संस्कृति, संस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनुदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धाताका रूपमा उहाँ स्थापित र प्रतिष्ठित हुनुहुन्छ ।
राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरीवेक्षक, सङ्ख्या विभागका सुपरिटेण्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्व र संस्कृति विभागका डाइरेक्टर बनी उहाँले उत्कृष्ट राष्ट्रसेवा गर्नुभएको छ ।
संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका अकादमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उहाँ र उहाँको समूहको ठूलो योगदान रहेको छ ।
उहाँले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापककारूपमा कार्य गरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिनुभयो ।लागि उहाँले दिएका अमूल्य योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकार र अन्य सङ्घसंस्थाद्वारा अनेक सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत, मनार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा वाङ्मय शताब्दी पुरुष सम्मानबाट सम्मानित हुनुहुन्थ्यो । उहाँले तीनपटक प्रशिद्ध मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।