एनआरएनए विधानको मस्यौदा सर्वसम्मतिले पारित,डेलिगेट प्रथा कायमै, प्रतिशतको झमेला हट्यो, निर्वाचन हाइब्रिट
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधरण सभाले विधानको मस्यौदा पारित गरेको छ।
काठमाडौंमा बुधवार राति सम्पन्न साधरण सभाले प्रस्तावित मस्यौदा सर्वसम्मतिले पारित गरेको हो। एनआरएनए साधरण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिए पछि लागु हुने जनाइएको छ।
विधान समितिका सचिव गंगाधर गौतमले हलमा उपस्थितका बीच संसोधित मस्यौदा बाचन गरेका थिए।
संशोधित विधानमा डेलिगेट प्रथालाई कायमै राखिकएको छ तर डेलिगेट छनौटमा प्रतिशतको झमेला भने हटाइएको छ। निर्वाचन प्रत्यक्ष र अनलाइन दुबै बाट हुने व्यवस्था राखिएको छ। उमेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं पुग्नै पर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
सबै पञ्जिकृत सदस्यले आइसीसीमा अनलाइनबाट मतदान गर्न पाउनु पर्ने माग हुदै आएको थियो। तर अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा.बद्री केसीले आपसी सहमतिमा अन्तिम रुप दिएर ल्याइको भनिएको मस्यौदा हाइब्रिट बनाइएको हो।
आइसीसीका महाचसिव डा.केशव पौडैलका अनुसार संसोधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ।
‘विधानत विश्वभरबाट तीन हजार प्रतिनिधि छनौट हुन्छन् ती मध्ये उमेदवार, तीनका दुई जना प्रस्तावक र दुई जना समर्थक तथा आइसीसी सदस्य नेपालमा नै आएर प्रत्यक्ष मतदान गर्नु पर्छ’ महासचिव पौडेलले समाज टाइम्स सँग भने, ‘बाँकीले आफु बसेको देशबाटै अनलाइन वा प्रत्यक्ष रुपमा काठमाडौं आएर पनि मतदान गर्न पाउछन्।’
महासचिव पौडेलका अनुसार काठमाडौंमा पुगेर मतदान गर्नु पर्नेको संख्या सात सय ५० को हाराहारीमा हुने छ। उमेदवार तीनका प्रस्तावक, समर्थक र आइसीसी सदस्यले अनलाइनमा भोट गर्न पाउने छैनन्।
संसोधित विधानमा डेलिगेट छनौट गर्दा प्रतिशतको क्षमेला हटाइएको छ। यस अगाडि ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशतको व्यवस्था थियो। त्यसमा पनि एनसीसीको नयाँ कार्यसमिति र पुरानो कार्यसमिति मध्ये कसले छनौट गर्ने भन्ने विवाद थियो।
अब आइसीसीको निर्देशिका अनुसार आइसीसी र एनसीसीमा काम गरिसकेकालाई प्राथमिकतामा राखेर नव निर्वाचित कार्यसमितिले शत प्रतिशत डेलिगेट पठाउने छ।
यस्तै धेरै सदस्य भएका मुलुकले २५ प्रतिशत बढी डेलिगेट पाउने छन्। एक हजार भन्दा बढी सदस्य भएका मुलुकले यो सुविधा पाउने छन्।