कथा : बुद्धि र विवेक
लेखनाथ गौतम
टेक्सास, अमेरिका/ एकजना निकै गनेमानेका इन्जिनियर र कखरा पनि नजान्ने गाउँले कतै जाँदै थिए। जाँदाजाँदै बाटोमा पानी पर्यो, उनीहरु ओत लागे। पानी रोकिए पछि फेरी बाटो लागे। बाटोमा एउटा खहरे खोला निकै बढेर उर्लिरहेको थियो।
इन्जिनियर साहेब खोला तर्न तम्सिए। ती अनपढ मान्छेले उनलाई रोक्दै भने ‘नजानुस, यो खोला बिचमा गहिरो र निकै बलियो छ, बगाउँछ।’
इन्जिनियर को पारो तात्यो, उनले रिसाउँदै भने ‘तँ पाखेले मलाई सिकाउँछस, म जस्तो इन्जिनियरलाइ थाहा नभएको तँलाई कसरी थाहा हुन्छ।’
यसो भनेर उनले आफ्नो नाप्ने यन्त्र निकाले र टाढैबाट नदीका तीन ठाउँबाट त्यसको गहिराइ र करेन्टको शक्ति मापन गरे। त्यसलाई तीनले भाग गरेपछि उनले भने ‘हेर अनपढ, मेरो फर्मुला अनुसार यो खोला मेरो कम्मर सम्म आउंछ र करेन्ट पनि मेरो तागत भन्दा निकै कम्जोर छ। त्यसैले न त यसले मलाई डुबाउन सक्छ न बगाउन नै। त्यसैले जाने हो भने हिंड नत्र म जान्छु।’
ती अनपढले लाख बिन्ति गरे तर ती इन्जिनियरले सुन्दै सुनेनन्। उनी अघि बढे। परिणाम उनलाई त्यो खहरे खोलाए बगायो। अनपढ मान्छे खोला अलि घटुञ्जेल पर्खिबसे अनि बल्ल बाटो लागे।
ती इन्जिनियरको पढाइ, उनको अनुभव र उनको विज्ञता बारे प्रश्न गर्ने हामीसँग ल्याकत छैन। उनले ठूलै विश्वविद्यालयबाट आफ्नो पढाइ पुरा गरेका थिए। तर परिस्थितिको तगाजा लगाउन नसक्नु, आफ्नो फर्मुला गलत ठाउँमा प्रयोग गर्नु उनका कमजोरीहरु हुन् जसले उनलाई मृत्यु सम्म पुर्यायो भन्ने अर्थ लगाउन भने हामी पनि इन्जिनियर बन्न पर्दैन, एउटा सामान्य मान्छेले पनि भन्न सक्छ।
हाम्रो अहिलेको समस्या पनि त्यहि हो। उहाँहरु जो तिथि र मितिको कुरामा अघि बढ्नु भएको छ, उहाँहरुको योग्यता र अनुभवमा हामीले प्रश्न गर्न सकिन्न। उहाँहरुको बुद्धि त अतुलनिय नै छ, विवेक भने पटक्कै नपुगेको सबैको बुझाइ छ।
बुद्धिको प्रयोग सहि ठाँउमा भयो भने त्यसले विकास, एकता, सम्वृद्धि र सहि मार्गमा पुर्याउँछ भने बुद्धिमा विवेक नामक रसायनको कमि भयो भने ती इन्जिनियरको जस्तै हालत हुनसक्छ।
अझ समाजमा पहुँच राख्ने र हातमा डाडु पनियो भएकाहरुमा विवेकको कमि भयो वा त्यो इन्जिनियर जस्तै परिस्थितिको तकाजा लगाउन नजान्ने निस्के भने समाजले दुख पाउन सक्छ। बुद्धि भएको मान्छेमा विवेकको ठाउँमा ‘रिस, आवेग, इर्श्या, कुण्ठा, इगो, प्रतिशोध र घमण्ड’ भयो भने त सर्बनासै गर्छ।
तपाईं हामी त एक जना हो, हाम्रो हातमा न संस्थाको तागत छ न पदको प्रभाव। न हाम्रो सिग्नेचर चल्छ न हाम्रो बोलि। यस्तोमा सिग्नेचर चल्ने ठाउँमा भएकाहरुको बुद्धिमा बिबेकको अपेक्षा समाजले गरेको हुन्छ।
मेरो पनि अपेक्षा त्यहि नै हो। पढेको वा बुद्धि भएको भन्ने आधारमै बिबेक प्रयोग गर्न नसक्दा मृत्युबरण गर्ने इन्जिनियरको मार्गमा नजान समाजका अग्रणी, आदरणीय व्यक्तित्वहरुलाई सचेत बनाउँ। ती इन्जिनियर एक्लै थिए, एक्लै गए। यहाँ त समाज छ, मन्दिर छ, हाम्रो आस्था र परम्परा छ, हाम्रो रितिथिति छ। यसलाई गुल्टिन नदिनु तपाईं हाम्रो सबैको दायित्व हो। एक्लै गुल्टिने अधिकार सबैलाई भए पनि समाज गुल्टिने कुरामा तपाईं हामी पनि सचेत हुने कि ?
यो पनि हेर्नुहोस (मलाई दशैं किन दशा बन्छ ?)