मलाई दशैं किन दशा बन्छ ?
टेक्सास,अमेरिका। बिगत ३/४ बर्ष देखि अमेरिकामा चाडबाडको दिनको बिषयमा लफडा पर्दै आएको छ। तिथिको हवाला दिएर चाडहरु नेपाल भन्दा एकदिन अगाडि मनाउने उपाय निकालिए पछि बिना विवाद र रमाइलो सँग मनाउदै आएका चाडहरुले टाउको दुखाउँदै आएका छन् ।
अघिल्लो दिन कि पछिल्लो दिन भन्ने कुराले यस्ता पर्बहरुलाई हर्षोल्लासपूर्वक मनाउन के गर्नु पर्छ भनेर छलफलमा खर्च गर्नु पर्ने समय अघिल्लो दिन कि पछिल्लो दिन भन्ने विवादले खर्लप्पै खाएको छ। यो कसैको लागि पनि हितकर छैन।
पर्वलाई एकदिन अघि सार्ने अभियानको शुरु देखि नै मैले समुदायलाई विश्वासमा नलिई यस्तो काम गर्नु सहि हुँदैन भनेर मन्दिरका संचालकहरुलाई सुझाव दिएको थिएँ तर उहाँहरुले समाजलाई अल्पज्ञानी जमात भन्दै हामीले गरे पछि “झुक्न बाध्य” हुन्छन भन्ने तर्क राख्नु भयो।
मैले बृहद छलफल गरेर मात्र अघि बढ्नु राम्रो हुने नत्र मन्दिर एकातिर र समाज अर्कोतिर हुन सक्ने कुरामा सचेत बनाएँ। सायद त्यस्ता सुझाव धेरैले दिएका थिए, तर उहाँहरुले सुन्नु भएन। समाजलाई “झुकाएर छोड्ने” अभियानमा लाग्नु भएका केहि साथीहरु अब न त पछि हट्न सक्ने अबस्थामा हुनुहुन्छ न त अघि बढ्न। तर बिडम्बना आज समाज विभाजित भैसकेको छ।
चाहेर वा नचाहेर यसमा म मुछिएको छु। मन्दिरमा अहोरात्र खटेर काम गर्नेहरुलाई आलोचना गर्न मेरो मन पटक्कै मान्दैन। आफुले समय दिन नसक्ने अबस्थामा समय दिएर समाज र हाम्रो धर्म संस्कृति बचाउन लाग्नेहरुलाई सार्वजनिक आलोचना गर्नु मेरो लागि अत्यन्त कठिन काम हो। आफु हातमुख जोर्न रातदिन काम गर्ने तर आफ्नो र परिवारको लागि समय नदिएर समाजको लागि केहि गर्ने ती आदरणीय व्यक्तिहरुलाई आलोचना गर्दा मलाई पटक्कै आनन्द आउँदैन।
तर विधिको बिडम्बना अर्कै हुँदो रहेछ। मन्दिरको विरोध वा हाम्रो धर्म संस्कृतिको विरोध गर्नेहरु प्रति अलि कठोर रुपमा प्रस्तुत हुने म मन्दिरको “यहि एउटा धुन्धुकारी कदम” प्रति भने आँखा चिम्लेर बस्न सकिन। यसको कारण “सामाजिक एकता” नै थियो र हो। यसमा कुनै व्यक्ति प्रति मेरो आग्रह वा पुर्बग्रह छैन।
जो जो व्यक्तिहरु यो अभियानमा “हात धोएर” लाग्नु भएको छ, उहाँहरुसँग मेरो व्यक्तिगत सम्बन्ध अत्यन्त राम्रो छ र म यसलाई बिगार्न पनि चाहन्न। तर सार्जवनिक बिषयमा उहाँहरुले गरेका गलत काम र “गल्ति” हरु माथि मैले प्रश्न उठाउन भने छोड्ने छैन। तर म अघिल्लो दिन वा पछिल्लो दिन पर्व मनाउन समाजलाई बाध्य बनाउने अभियानमा लागेको अभियन्ता होइन, समाज एक होस् र सबै चाड पर्व एकदिन मनाउने बातावरण बनोस भन्ने चाहना राख्ने एक व्यक्ति मात्र हो।
मेरो शुरु देखिकै भनाइ के थियो भने हाम्रो यहाँको समाज अझै पनि पूर्ण रुपमा नेपालबाट “इण्डेपेण्डेण्ट” वा स्वतन्त्र नभई सकेको अबस्थामा हामीले परम्परागत चाडपर्बहरुमा पनि त्यो “कनेक्सन” रहने भएकोले दिन अघिपछि पार्दा असहज हुने भएकोले “परम्पराको निरन्तरता” को सिद्धान्त अनुरुप एकै दिन चाडबाड मनाउन उपयुक्त हुन्छ।
यो तर्कमा ९५ प्रतिशत भन्दा बढी समाजका व्यक्तिहरुको भावना प्रतिबिम्बित भएको देखिन्छ। तर समाजको यति ठुलो हिस्साको भावनाको बिपरित बिना गृहकार्य हतारमा काम गरिए पछि समाजले यसलाई सजिलै स्विकारेन। यसमा मन्दिरकै पुजारीहरू, मन्दिर संचालक समितिका अधिकांश सदस्यहरु र मन्दिरका अभियन्ताहरुको समेत बिमति छ।
यो खिचलो बीच मलाई सबै चुप छन् तँ पनि चुप लागेर बस्, मन लागेको दिन चाड मनाइ भन्नेहरु पनि थुप्रै छन् भने होइन समाज विभाजित भयो केहि त बोल भन्नेहरु पनि यहि समाजमा छन्।मलाई थाहा छ मन्दिरका “केहि मान्छे” हरु मलाई “नबुझ्ने मान्छे” भनेर आलोचना गर्छन।
आफ्नो आस्थाको धरोहर मन्दिर जाँदा पनि “पोइल गएर फर्केर आएकी” महिलाको जस्तो अनुभूति हुन्छ मलाई। मन्दिर जाने धेरैले भनेको सुन्छु, “त्यहाँ अपनत्व छैन” जसले मलाई नरमाइलो महशुश गराउँछ। त्यति ठुलो योजना र भिजन अगाडि छ तर हामी यति सानो कुरामा झगडा गरिरहेका छौं। मलाई यो कुराले कुनै आनन्द दिंदैन। यो कुराले सायद कसैलाई पनि आनन्द नदेला।
अब समाजका सबै अग्रज, अभियन्ताहरु बसेर छलफल गरी यसलाई संधैको लागि बिश्राम लगाउन पर्छ। मन्दिर वा आध्यात्मिक केन्द्रमा समय दिएर समाजसेवा गर्नु भएका सबैलाई यसमा गम्भीर हुन, छलफल गर्न र दोषारोपण भन्दा पनि समस्या समाधान तिर लाग्न अनुरोध गर्दछु।
हाम्रो समाजको उर्जा विवादमा होइन बिकासमा लगाउने बाताबरण तयार गर्न हामि सबै लागौं। यो सामाजिक बिषय भएकोले यसलाई व्यक्तिगत रुपमा नलिई सामाजिक समस्याको रुपमा ग्रहण गर्दै सबैले एक कदम पछि हटेर सोंच्न अनुरोध समेत गर्दछु। यो मामिलामा म कसै प्रति पुर्बग्राही नभएको जानकारी गराउंदै सबै मिलेर अघि बढ्ने प्रेरणा मिलोस भन्दै बिजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।