एनआरएनए राजनीति : ‘कुल’ नरहेको कुल कार्यकाल
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का तीन अध्यक्ष मध्ये एक कुल आचार्यले आफ्नो ‘कार्यकारी कार्यकाल’ सकेका छन्। पहिलो ६ महिने कार्यकारी जिम्मेवारी २ अक्टोबरमा पुरा गरेका उनी सफल भए कि निधारमा टिका बोकेर माला लगाउँदै हिँडे ? समीक्षा हुन थालेको छ ।
यसरी अध्यक्ष बनेका थिए आचार्य
जम्बो अध्यक्षमा पहिलो नम्बरमा परेका आचार्य अघिल्लो कार्यकालका लागि पनि निर्वाचन मैदानमा थिए । तर, प्रत्याशी कुमार पन्तसँग हारे । उनले मैदान भने छोड्नन् । पराजित भएपछि पनि उनले प्रतिनिधि छनोटको मुद्दामा आवाज उठाइरहे । उनी र उनको समुहको आरोप थियो, ‘संस्थापन पक्षले सिण्डिकेट कायम राख्दै आफ्ना उत्तराधिकारी तोक्न डेलिगेट छनोटमा व्यापक धाँदली गरेको छ । विधानमा नै विभेद छ ।’
आचार्य समूहले प्रतिनिधि छनोटको मुद्दा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयसहित सबै ठाउँमा पुर्यायो । प्रतिनिधि छनोटसहितका विवाद विस्तारित हुँदै गए, अदालत सम्म पुगे। एनआरएनए इतिहासमै बदनाम अवस्थामा पुग्यो । संस्थाको गरिमा मात्र होइन, विभाजन हुने हो कि भन्ने अवस्थासम्म पुग्यो । त्यही बेला नेपालमा पनि स्थिर हुने आपेक्षा गरिएको राजनीति तरल भयो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको शासन ढल्यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भए ।
नेपालमा देउवा शासन पुनरोदय भए पछि मैदानमा आवाज उठाइरहेका आचार्यको एनएआरएनए राजनीति पनि दाइना भयो । उपचारको लागि देउवा पत्नी आरजु राणा बेलायत भ्रमणमा रहँदा आचार्यले गरेको सहयोग पनि उनका लागि एनआरएनए अध्यक्षको खुड्किलो चढ्ने माध्यम भयो । एनआरएन राजनीति विश्लेषण गर्नेहरुको त्यतिबेलाको टिप्पणी थियो, ‘आचार्यले आराजुलाई लण्डनमा गरेको सेवाको बक्सिसमा एनआरएन अध्यक्ष पाए।’
तत्कालीन समयमा नेपाली कांग्रेसले आचार्यको विकल्पमा आरुलाई सुन्न नचाहेपछि एनआरएनएको संस्थापन पक्षले पनि सडकमै पुग्नु भन्दा मिलेरै जाने रणनीति लियो । अनेक छिनाझपटी हुँदै अन्तत: पद बाड्फाड गरेर जम्बो टिम बनाउने ‘टाउके’ सहमति दुवै पक्षबीच भयो । एनआरएनएको १९ वर्षे इतिहासमा पहिलो पटक भागवण्डा भयो । तीन–तीन जना अध्यक्ष भए । तर, कार्यकारी समिति भने अहिलेसम्म पुरा भएको छैन । बेथितिले गर्दा विश्वका ८५ देशमा राष्ट्रिय समन्वय परिषद् (एनीसीसी) र एक लाख भन्दा बढी सदस्य रहेको संस्था अहिले बदनाम भएर धरमराइहेको छ ।
आचार्य मुद्दा केन्द्रित भए त ?
दशौँ महाधिवेशनका लागि प्रतिनिधि चयनमा धाँधलि भएको जिकिर गरिरहेका आचार्यले त्यस्तो अनियमितता समाप्त गरेर संस्थाको गरिमा बनाइराख्न आफ्नो नेतृत्व दाबी छोडेनन् । यससँगै पाँच लाख सदस्यता बनाउने, नेपालमा लगानी बढाउने, पिएनओलाई परिचय पत्र लगायतका एजेण्डा लिएर अध्यक्षको प्रतिस्पर्धी भए । सबैतिर अनकूल वातावरण बनेर पहिलो अध्यक्ष हुने गरी अध्यक्ष मण्डल पनि बन्यो । तर, कार्यकारी अध्यक्ष भएपछि उनले ‘खोलो तर्यो लौरो बिर्सियो’ उखान अनुशरण गरेको आरोप लाग्ने गरेको छ ।
आचार्य अध्यक्ष बने पछि ‘ढोड’ जस्तो मात्र बनेको विश्लेषण गर्न थालिएको छ । न त उनले संस्थामा सुधार नीति लिए वा समस्या समाधानको ठोस कदम नै उठाए । विधानमा सुधार, प्रतिनिधि छनोटमा स्वच्छता तथा पारदर्शिता, एमआईएस, अनलाइन प्रणालीमा सुधार लगायतमा कुनै काम गरेको देखिएन । काम त परैजाओस् उनले कार्यसमितिलाई पनि पूर्णता दिन सकेनन् ।
कार्यकारी पद छोड्दै गर्दाको पत्रकार सम्मेलनमा आचार्यले संस्थामा थप विवाद नल्याउन संरक्षक र सल्लाहाकार नियुक्ति टारेको बताए । यो अभिव्यक्तिले उनको लक्ष्य केवल ‘पदका लागि पद’ मात्र थियो भन्ने सन्देश दिएको छ ।
आफैँले एक करोड दिएनन्, अरुले पनि तिरेनन्
एनआरएनए अध्यक्ष आचार्यले निर्वाचित भएपछिको पहिलो बैठकमै काठमाडौंस्थित पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने घोषणा गरे । यस पुण्य कार्यका लागि आफूले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरे । यस घोषणालाई सकरात्मक सुरुवाती सन्देश भनियो ।
वृद्धाश्रम बनाउने विषयमा अध्ययन र गृहकार्य थिएन । त्यसैले भावना र उत्तेजनामा घोषित परियोजना अघि बढ्नै सकेन । यति मात्र होइन, एनआरएनएको गरिमा बढ्ने गरी सुरुवाती सन्देश प्रवाह गरेका आचार्यले आफैँले बोलेको एक करोड रुपैयाँसमेत अहिलेसम्म खातामा जम्मा गरेका छैनन् । यसबाट एनआरएनहरु ‘बकितम्’ मात्र हुन् भन्ने सन्देश स्वदेशमा पनि प्रवाहित भएको छ ।
आचार्यले भने वृद्धाश्रम बनाउन आफूले प्रयास गरेको दाबी गरे । समाज टाइम्ससँगको सम्वादमा उनले सरकारका कारण परियोजना शुरु गर्न नपाएको बताए । उनले भने, ‘जग्गा नै मिलेको छैन।’
आफूले बोलेको रकम खातामा नहाल्ने मात्र होइन, संस्थाको उठाउन पर्ने रकमसमेत आचार्यले उठाउन सकेनन् । निर्वाचनको बेला मनोनयन फि देखि तथा प्रायोजन वापतको रकम नउठेको हो । प्रक्रियागत हिसाबले निर्वाचन समितिलाई परिचालन गरेर अध्यक्षले मनोनयन फि उठाउन पर्ने थियो । प्रायोजन वापतको रकम भने कार्यसमितिले उठाउन सक्ने थियो । त्यसो त, पदाधिकारी लेभी पनि नउठेको कार्यसमितिका एक सदस्यले जानकारी दिए । नेतृत्व कमजोर भएपछि दिनेहरु पनि अटेर बसेका छन् ।
परदेशीका माउ ‘होलि काउ’ !
एनआरएनए अध्यक्षमा कुल आचार्य निर्वाचित भएको केही समयपछि गैरआवासीय नेपालीहरुमा एउटा थेगो चर्चामा आयो, ‘परदेशीका माउ, होली काउ’ । एक लाखभन्दा बढी सदस्यको अध्यक्ष आचार्यको कार्यशैली परिपक्व नभएको भन्दै यस्तो टिप्पणी गरिएको थियो । उनले एनआरएनको लेडरहेडमा निजी व्यवसायको प्रचार गरेको भन्दै यो टिप्पणी गरिएको थियो । उनको निजी व्यवसायको नाम ‘होली काउ’ हो ।
आचार्यले बेलायतका तत्कालिन प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रण दिएको भन्दै पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरे। एनआरएनएको अध्यक्षले बेलायतको प्रधानमन्त्रीलाई कुन हैसितयतमा नेपाल भ्रमणको निमन्त्रणा दिए भन्ने प्रश्न उठ्यो । सँग सँगै उनको नीजि व्यवसायको नाम ‘होली काउ’ एनआरएनएकै हेटरप्याडमा लेखिएको पत्रमा उल्लेख थियो। यस्ता अपरिपक्व कामको हुन थालेपछि तिब्र विरोध भयो। त्यस पछि उनले पदाधिकारी बैठकमा गल्ती स्वीकार्दै आइन्दा यस्तो कमजोरी आफूबाट नहुने प्रतिवद्धतासहित माफी नै मागे ।
‘काम गर्ने कालु मकै खाने भालु’
गैरआवासीय नेपालीको डेढ दशक लामो प्रयासपछि नेपाल सरकारले गत महिना गैरआवासीय नेपालीलाई नागरिकता दिने गरि संसदबाट नागरिकता बिधेयक पारित गर्यो । तर, राष्ट्रपतिले प्रमाणीकरण नगरेकोले विधेयक कानुन बनेको छैन । अब के हुने भन्ने अनिश्चित छ ।
एनआरएनए अध्यक्ष आचार्यले कार्यसमिति बैठकमै आफूले नेपालमा सेमीनार गरेर दबाब नदिएको भए गैरआवासीय नेपालीलाई नागरिकता दिने विधेयक संसदले पास नगर्ने दाबी गरेका थिए । तर, बैठकमा उनको दाबी सुनेपछि पदाधिकारीहरुबीच हाँसो छुटेको थियो । त्यसपछि गैरआवासीय नेपालीहरुबीच ‘काम गर्ने कालु मकै खाने भालू’ भन्ने व्यंग्यात्मक चर्चा चलेको थियो । तैपनि आचार्यले आफ्नो नेतृत्वबाट यो काम सफल भएको दाबी गर्न छोडेका छैनन् ।
त्यस्तै, स्थापनाकालदेखि गैरआवासीय नेपाली संघलाई नेपाल सरकारले सहयोगीको रुपमा लिदै आएको छ । हरेक वर्षका नीति तथा कार्यक्रम एवं बजेटमा विदेशमा रहेका नेपालीका सम्बन्धमा केही न केही कार्यक्रम ल्याउने गर्छ । भलै अधिकांश कार्यक्रम घोषणामै सीमित हुने गरेका छन् । यसपटक पनि सरकारले एनआरएनलाई डलर खातामा सहजिकरण गर्ने, लगानीकर्तालाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम घोषणा गरेको थियो । नियमित जस्तै यी कार्यक्रममा भने एनआरएनए अध्यक्ष आचार्यले आफ्नो सफलता मानेका छन् । आफ्नो नेतृत्वको पहलका कारण सरकारले कार्यक्रम ल्याएको उनको दाबी छ ।
विधान एकातिर, नेतृत्व अर्कैतिर
आचार्यले ६ महिना कार्यकारी नेतृत्व लिए । कार्यसमितिको बैठक भने विधान बमोजिम नियमित राख्न सकेनन् । विधानले हरेक तीन महिनामा संघको पूर्ण बैठक अनिवार्य बस्ने व्यवस्था गरेको छ । एक त कार्यसमिति नै पुरा हुन सकेन भने उनले आफैँबाट भएका अधिकांश कामको पदाधिकारी बैठकबाट अनुमोदन गराउनसमेत सकेनन् । उनले निकै ठूलो उपलब्धि भनेको एक दिने सेमिनारसमेत कार्यसमितिमा विवादमा पर्यो । सबैलाई खबर नै नगरि कार्यक्रम गरिएको भन्दै विरोध भएको थियो । त्यसो त कार्यसमितिले कार्यक्रममा लागेको खर्च समेत नतिर्ने निर्णय गरिदियो।
सिइओ नियुक्ती विवादमा
गत बैशाखदेखि रिक्त गैरआवासीय नेपाली संघको सिइओ नियुक्तिमा समेत आचार्य विवादमा परे । एक लाख ५० हजार तलव भत्ताको बिज्ञापन गरेर आचार्यले एकल निर्णयबाट तलव भत्ता करिब तीन लाख बनाएका थिए । संघको विधान र कर्मचारी नियमावली विपरित भएकाले अधिकांश पदाधिकारीले विरोध गरे । यो विवाद मिलाउन समिति नै बन्यो ।
एनसीसीका घर भत्काए भाटा हालेनन्
एनआरएनएको एक दर्जनभन्दा बढी राष्ट्रिय समन्वय समिति (एनसीसी)विभाजित अवस्थामा छन् । प्रतिनिधि विवाद उचालेर संस्था बिभाजनको संघारमा पुर्याउने अपजस उनै आचार्यमाथि लागेको छ । तर, उनले आफ्ना कारण भत्किएका संस्था मिलाउन नसकेको मात्र होइन, जुन विवाद उठाएर अध्यक्ष भएका थिए त्यसमा सुधारका एक वाक्य पनि थप्न सकेनन् । उनी आफै बस्ने युकेसहित अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडा लगायतका देशको विवाद जिउका तीउ छन् ।
पछिल्लो समय सबै भन्दा ठूलो विवाद आचार्य बसेकै देश युकेमा छ । उनले एनसीसी युकेका निर्वाचित अध्यक्ष प्रेम गहा मगरलाई आइसीसीका महासचिव मार्फत् निलम्बनको पत्र पठाए । सो पत्राचार र पत्रबेहोरा विवादित बन्यो । आइतबारको पत्रकार सम्मेलनमा अर्की अध्यक्ष रविना थापाले समेत युके अध्यक्ष निलम्वनको पत्रको प्रक्रियाप्रति चित्त नबुझेको बताएकी थिइन् । उता, गहा मगरले पनि आचार्यलाई एनआरएनए युकेको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिदिएका छन् ।
अमेरिकामा पनि दुई वटा समिति छन् । एउटा निर्वाचित र अर्को निर्देशित (निर्देशनबाट बनेको) । युकेका अध्यक्षलाई निलम्वनको पत्र पठाउन लगाएका आचार्यले अमेरिकामा पनि कुन समिति आधिकारिक हो भनेर औपचारिक पत्र पठाउन सकेका छैनन् । तर, आफू भने निर्वाचित समितिको साधारण सभामा सहभागी भएका थिए ।
यसअघि एनआरएनएको अध्यक्ष निर्वाचित भएर कर्मभूमि बेलायत फर्किने क्रममा नै आचार्यको हर्ष टुटेको थियो । भव्य स्वागतको अपेक्षामा लण्डन विमानस्थलमा पुगेका उनलाई परिवारका सदस्यसहित केही नजिकका मान्छेले मात्र स्वागत गरेका थिए । यद्यपि उनको समय तालिकासहित स्वागतका लागि उपस्थिति भइदिन आफन्तबाट आग्रह गरिएको थियो । सुरुमा बेवास्ता गरेको एनसीसी युकेले अहिले निषेधकै नीति लिएको छ ।
त्यसो त एनआरएनएको पदाधिकारी बैठकले आचार्यकै अध्यक्षतामा युकेको विवाद समाधान समिति बनाएको थियो । तर, उनले संवादसहित बैठक गरेर मिलाउनतिर भन्दा टार्ने काम गरे । सोही अवस्थामा एनसीसी युकेले एनआरएनएका पूर्व अध्यक्ष शेष घलेलाई प्रमुख अतिथि बनाएर साधरणसभा गरेको छ। यो हेरिरहेका टिप्पणीकारहरु भन्छन्, ‘घर चलाउन नसक्नेले संसार चलाउन खोजेको देखियो । एनसीसीका घर भत्काइयो भाटा पनि हालिएन, यसले संस्थाको कद घटाएको छ। ’
तर, आचार्यको दाबी : ६ महिना, सात उपलब्धि
आफ्नो ६ महिनाको कार्यकालमा सात उपलब्धि हासिल गरेको दाबी अध्यक्ष आचार्यले गरेका छन् । उनले आइतबारको भर्चुअल पत्रकार सम्मेलनमा बुँदागत रुपमै आफ्ना दाबी प्रस्तुत गरेका छन् । उनको दाबी जस्ताको तस्तै :–
आचार्यको बक्तव्यको पूर्णपाठ
सर्वप्रथम नेपालीहरूका महान पर्व विजया दशमी, दीपावली, छठ तथा ह्लोसारको पावन अवसरमा गैरआवासीय नेपाली संघका पन्जिकृत सदस्यहरु, पदाधिकारी साथीहरु, संसारभरि रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरु, मिडियाका साथीहरु लगायत यो अभियानमा सघाउने सम्पूर्ण सहयोगी मित्रहरुमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
गत मार्च २०२२ मा नेपालमा गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन केही विषम परिस्थिमा सम्पन्न भएको हामी सबैलाई थाहा छ। गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको म्यान्डेट अनुसार सर्वसम्मतिले गठित नयाँ कार्यसमितिले गत ६ महिनाको छोटो अवधिमा पनि लामो समयदेखि थाती रहेका थुप्रै उल्लेख्य कामहरु पुरा गरेको छ । त्यसमध्ये मुख्यमुख्य यसप्रकार छन् :
१. नेपालको संविधान २०७२ ले उल्लेख गरेको गैरआवासीय नेपाली नागरिकता कार्यान्वायन गर्ने गरी संसदको दुबै सदनबाट नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुइ, दुइ पटक पारित भएको छ। त्यसलाई मैले मुख्य उपलब्धिको रुपमा लिएको छु। उक्त विधेयक सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको छ। संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि हामी नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबैसंग हार्दिक आग्रह गर्दछौं ।
२. गत १६ जुन २०२२ मा गैरआवासीय नेपाली संघद्वारा ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयमा एक दिने कार्यशाला गोष्ठि भव्य र सभ्यरुपमा सम्पन्न भयो । उक्त गोष्ठिमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, माननीय गृह मंत्रीज्यू, परराष्ट्र मंत्रीज्यू, श्रम मंत्रीज्यू, कानून मंत्रीज्यू, सांसदज्यूहरू, सचिवज्यूहरु, वरिष्ठ सरकारी अधिकारीहरु, कूटनीतिज्ञ, उद्यमी व्यवसायी, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी साथीहरु प्रत्यक्ष र भर्चुएल माध्यमद्वारा संसारभरिबाट जोडिनु भएको थियो। उक्त गोष्ठिका ९ बुंदे निष्कर्षहरु हाम्रो वेबसाइटमा छ।
३. त्यस्तै गत २१ जुलाई २०२२ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनु हुन्थ्यो।
सोही अवसरमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएको तर्फबाट मैले, अध्यक्ष बद्री केसी र रबिना थापाले हस्ताक्षर गरेका छौं।
४. विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा नेपाल सरकार तथा निर्वाचन आयोग निकै सकारात्मक रहेको हामीले पाएका छौं। यो निर्वाचन लगत्तै फेरी हामीले ‘फलो अप’ गर्ने छौं।
५. हाम्रो निरन्तर प्रयासको फलस्वरुप एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटक पटक नियमावलीहरु संशोधन गरेर सहजीकरण गरेको छ। यो सुविधालाई बढी भन्दा बढी प्रयोग गर्न म सबै साथीहरुलाई आग्रह गर्दछु ।
६. गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टस् एकेडेमीद्वारा गत भाद्र २४ र २५ गते आयोजना भएको “प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२” प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । एनआरएनएले १ रजत र ४ कास्य पदक जितेको छ। त्यस्तै आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टिम सहभागी हुन लागेको छ र २० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।
७. यसै अवधिमा बैंककमा एसिया प्रशान्त क्षेत्रको नवौं बैठक, स्टकहोममा यूरोप क्षेत्रको १४ औं क्षेत्रीय बैठक, युवा तथा महिला सम्मेलन साथै सिड्नीमा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएका छन्। यसैबीच केही एनसीसीहरुमा आन्तरिक विवाद देखिए पनि संघको नेतृत्वले विधान अनुरुप ती विवाद समाधान गर्न सक्दो प्रयत्न गरेको छ। विभिन्न कारणवश एनआरएनएको नाममा छुट्टै गतिविधि संचालन गरिरहेका साथीहरुसंग वार्ता गर्नका लागि संघले एक वार्ता कमिटि पनि गठन गरेको छ। संघका विभिन्न समिति तथा कार्यदलहरुले गरिरहेका कामहरुको बारेमा न्युजलेटरमा उल्लेख छ।
धन्यवाद ।
आइतबार, २ अक्टोबर २०२२