डाक्टर बाबुराम भट्टराईको घोषणा : ‘चुनाव लड्दिन,राजनीति छोड्दिन’
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन्।
सत्तारुढ गठबन्धनमा रहेका भट्टराईले सोमवार सामाजिक सञ्जाल मार्फत चुनाव नलड्ने घोषणा गरेका हुन्। उनले आफुले यस पटकको चुनाव नलडे पनि राजनीति भने नछोड्ने बताएका छन्।
तर कतिपयले भट्टराईले छोरीका लागि चुनाव छोडेको हुन सक्ने भन्दै अर्थाएका छन्।
भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौं क्षेत्र नम्वर ७ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने भन्दै तयारी गरिरहेकी छिन्। २०६४ सालको संविधान सभाको निर्वाचनमा मानुषीकी आमा हिसिला यमीले माओवादीबाट काठमाडौं क्षेत्र नम्वर ७ मा चुनाव जितेकी थिइन्।
यो बीचमा भट्टराईले नेकपा माओवादी केन्द्र सँग सहकार्य गर्ने भएका थिए। टिकट वितरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा भर पर्ने भएकाले मानुषीलाई गोरखाबाट गठबन्धनको साझा उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ।
भट्टराईले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै २०७२ सालमा संविधान जारी भएपछि माओवादी परित्याग गरेका थिए। त्यस पछि उनले ‘नयाँ शक्ति पार्टी नेपाल’ निर्माण गरे। तर, उनको दल २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सफल हुन सकेन।
चुनावी असफलतापछि भट्टराईले उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरम, नेपालसँग एकता गरेर समाजवादी पार्टी नेपाल बनाएका थिए। २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईको पार्टीमा विभाजन ल्याउन राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि समाजवादी पार्टी राष्ट्रिय जनता पार्टी (राजपा)सँग एकता भएको थियो।
जसपामा पनि विभाजन आएपछि एकातिर भट्टराई-यादव थिए भने अर्कोतिर महन्थ ठाकुर पक्ष रहेका थिए। ओलीको समर्थनमा ठाकुर पक्ष लाग्दा भट्टराई र यादवले भने सडकमा रहेको पाँच दलीय गठबन्धनसँग सहकार्य गरेको थियो। ठाकुर पक्ष ओली सरकारमै सहभागी भयो भने त्यसको चर्को विरोध यादव-भट्टराईले गरेका थिए।
ठाकुरले हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छन्। यादवलाई छोडेर भट्टराईले पनि नेसपा गठन गरेका छन्। नयाँ पार्टी गठन गरे पनि भट्टराईको हिमचिम भने नेकपा माओवादी केन्द्रसँग छ। माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचनमा जाने सहमति गरेका भट्टराईले सोमवार भने चुनाव नै नलड्ने घोषणा गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टराईसँगको सहकार्य चुनावका लागि मात्रै नभएर दीर्घकालीन भएको भन्दै पार्टी नै एकता हुने बताइरहेका छन्।
भट्टराईको विज्ञप्तिको पूर्णपाठ
प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।
आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाॅकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाए। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।
चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।
म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।
आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयाॅ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना!