जनसम्पर्क समिति अमेरिकाद्वारा राष्ट्रपति भण्डारीको राजिनामा माग
पेन्सिलभेनिया,अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा माग गरेको छ।
समितिले विज्ञप्ती जारी गर्दै संसदको दुबै सदनबाट दोश्रोपटक पुनः पारित भई आएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको भनेको छ।
समितिका अध्यक्ष सुभाष घिमिरे र महामन्त्री क्रान्ति अर्याल भण्डारीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा विगतमा ओली सरकारको पालामा सरकारद्वारा प्रस्तुत गरिएको सोही प्रकारको विधेयक निमेषभरमा स्वीकृत गर्ने राष्ट्रपतिले अहिले प्रमुख प्रतिपक्षी दलको ईशारामा राष्ट्रिय संवेदनशीलताको यस्तो गंभीर विषयलाई राजनीतिकरण गर्नु घोर आपत्तिजनक छ भनिएको छ ।
समितिको विज्ञप्तिको पूर्णपाठ
राष्ट्रपति ! राजिनामा देऊ !
संसदको दुबै सदनबाट दोश्रोपटक पुनः पारित भई आएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेकी छन् । संसदबाट पारित भई आएको विधेयक एकपटकको लागि पुनर्विचार गर्न संसदमा फिर्ता पठाउन सक्ने अधिकार राष्ट्रपतिसॅंग भएपनि दोश्रोपटक पुनः पारित भई आएमा प्रमाणीकरण गर्नुको विकल्प राष्ट्रपतिसॅंग छैन ।
विगतमा ओली सरकारको पालामा सरकारद्वारा प्रस्तुत गरिएको सोही प्रकारको विधेयक निमेषभरमा स्वीकृत गर्ने राष्ट्रपतिले अहिले प्रमुख प्रतिपक्षी दलको ईशारामा राष्ट्रिय संवेदनशीलताको यस्तो गंभीर विषयलाई राजनीतिकरण गर्नु घोर आपत्तिजनक छ ।
बाबुआमा नेपाली नागरिक भएरपनि राज्यविहीन बनाइएका लाखौं युवाहरू आफ्नै मुलुकमा अनागरिक भएका कारण शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत नैसर्गिक अधिकारबाट वन्चित छन् भने हृदयमा मातृभूमिको माया बोकेर परदेशिएका लाखौं आप्रवासी नेपालीहरूले आफ्नै भूमिमा आफ्नोपन महशुस गर्न पाएका छैनन् ।
यस्तो संवेदनशील विषयलाई संवोधन गर्न ल्याइएको नागरिकता विधेयकलाई असंवैघानिक तवरले रोक्ने दुस्साहस गर्ने राष्ट्रपतिको यो विवेकहीन कदमको नेपाली जनसम्पर्क समिति, अमेरिका घोर भर्त्सना गर्दै संविधानको पालना नगर्ने राष्ट्रपतिलाई तुरून्त राजिनामा दिन जोडदार माग गर्दछ !
जय नेपाल !
सुभाष घिमिरे
सभापति
नेपाली जनसम्पर्क समिति, अमेरिका
केन्द्रीय कार्यसमिति
क्रान्ति अर्याल भण्डारी
महामन्त्री