बाल्टिमोरमा नेपाली सडक महोत्सव सेप्टेम्बर २५ आइतवार हुने

Getting your Trinity Audio player ready...
|
मेरिल्याण्ड, अमेरिका । पाँचौ नेपाली सडक महोत्सव सेप्टेम्बर २५ तारिक आइतवार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ।
बाल्टिमोर एशोशिएशन अफ नेप्लीज इन अमेरिका (बाना) को आयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवको प्रवर्द्धकमा अमेरिका स्थित नेपाली दूतावास,वासिंगटन डिसी, अमेरिका लागि नेपाली अवैतनिक महावाणिज्यू दूतावास मेरिल्याण्ड र पेन्सिलभेनिया रहेका छन्।
बानाका अध्यक्ष सुवोध पन्तका अनुसार मेरिल्याण्डको टाउसन स्थित ४०० वासिङ्गटन र पेन्सिलभेनिया एभिन्युको बीचमा सेप्टेम्बर २५ तारिक आइतवार विहान ११ देखि साँढे चार बजे महोत्सव हुने छ।

पन्तका अनुसार महोत्सव हुने क्षेत्रमा सो दिन सवारी साधन चल्ने छैनन्। ‘त्यो दिन सडकमा पूर्ण रुपमा नेपाल झल्कने छ।’ समाज टाइम्स सँगको कुराकानीमा पन्तले भने।
बानाका महासचिव सागर घिमिरेका अनुसार महोत्सवको सहआयोजकका लागि मेरिल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थालाई आह्वान गरिएको छ।

‘हामीले यहाँ रहेका सबै संघ संस्थालाई सहआयोजकका लागि अनुरोध गरेका छौ, गत आइतवार पदाधिकारी सँग हाम्रो बैठक पनि भएको थियो, सबै जना सहआयोजक बन्न तयार हुनु भएको छ।’ घिमिरेले भने, ‘तर केही प्रकृया पुरा गर्नु पर्ने भएका,यो हप्ता भित्रमा त्यसको टुङ्गो लाग्छ।’
महासचिव घिमिरेका अनुसार महोत्सवमा १८ स्टल राखिने छ। प्रतिस्टल पाँच सय डलर तोकिको छ। स्टलमा नेपाली खाना, अन्य नेपाली उत्पादन प्रदर्शनी र विक्रिका लागि राखिने छ।
बानाले सन् २०१७ देखि नेपाली सडक महोत्सव आयोजना गर्दै आएको हो। दशै तिहारको छेकोमा महोत्सव गर्दै आएको भए पनि कोरोना संक्रमणका कारण पछिल्ला दुई वर्ष महोत्सव हुन सकेको थिए।
‘छुट्टीको दिन, चाडबाडको मौषम, फेरि दुई वर्ष रोकिएको कार्यक्रम यस पटक अझ धेरै जनाको सहभागिता हुने छ।’ अध्यक्ष पन्तले समाज टाइम्स सँग भने।
पन्तका अनुसार सहोत्सवमा स्टेजमा पनि कार्यक्रम हुने छ। यस्तै सडकमा नेपालीपन झल्कने भेषभुषामा परेडका साथै विभिन्न झाँकीहरु प्रदर्शन हुने छ।