युएईमा मृत्यु हुने नेपालीको संख्या बढ्यो
काठमाण्डौं । दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएकोप्रति नेपाली राजदूतावास, अवुधावीले चिन्ता व्याक्त गरेको छ ।
प्राप्त समाचार अनुसार, युनाइडेट अरब इमिरेट्स (युएई)मा एक महिनाको अवधिमा २४ जना नेपालीको मृत्यु भएको छ ।
गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।
गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेको दुतावासले उल्लेख गरेको छ ।
नेपाली राजदूतावास, अवुधावीको अनुरोध
दुतावासले सडक पार गर्दा अनिवार्य रूपमा हरियो वत्ति वलेपछि जेब्रा क्रसिङ वा तोकिएको स्थानबाट मात्र पार गर्ने । काम गर्ने स्थानमा रहेका खतराहरूका वारेमा काम गर्नु अगावै विस्तृत रूपमा जानकारी लिने ।
जोखिमपूर्ण काम गर्नु पर्दा आफ्नो सुरक्षालाई ध्यानमा राखेर मात्र गर्ने । मुख्यतः गर्मी मौसममा पानी बढीपिउने । जस्ता बिषयमा ध्यान पुराउन आग्रह गरेको छ ।