१० वस्तुको आयात ‘प्रतिबन्ध’ नहटाउने वाणिज्य मन्त्रालयको निर्णय
काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । १० वस्तुको आयातमा भएकाे प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएकाे छ।
उच्च आयातका कारण विदेशी बिनिमय सञ्चितिमा ह्रास आएको भन्दै मन्त्रालयले १३ वैशाखमा बिलासी १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । समीक्षा बैठकले ‘प्रतिवन्धपछि अर्थतन्त्रलाई राहात पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ । कति समयका लागि थप हुन्छ भन्ने कुरा राजपत्रको सूचनाले नै तय गर्नेछ ।
विदेशी मदिरा, महँगा गाडी, मोटरसाइकल, मोबाइल, कुरकुरे, चुरोट, हिरा, महँगा टेलिभिजन, खलौना र तास आयातमा असार मसान्तसम्मको पूर्ण प्रतिबन्धले विदेशी सञ्चिती सुधारमा सहयोग पुर्याएको भन्दै मन्त्रालयले राजपत्रमा सूचना निकालेर असार ३१ मा भदौं १४ गते (४४ दिन) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।
दशैं नजिकिए सँगै सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका थिए । दोस्रो पटक थप गरिएको प्रतिबन्ध फुकुवाका लागि व्यवसायीले चर्को लविङ गरिरहेका छन् । यता अर्थ, प्रधानमन्त्री कार्यालय र राष्ट्र बैंकसँगको छलफलमा प्रतिबन्ध हालकै अवस्थामा याथावत राख्नु पर्ने विषयमा एक मत भएको मन्त्रालयको ठहर छ । ‘प्रतिबन्धले सकारात्मक नतिजा दिएकोले यसलाई निरन्तरता दिनेमा एक मत देखिन्छ,’ स्रोतले भन्यो ।