साहित्यकार स्वर्गिय दीपक प्याकुरेलको अन्त्यस्टी मंगलवार, आर्थिक सहयोगको अपिल
न्यूयोर्क । साहित्यकार स्वर्गिय दीपक प्याकुरेलको अन्त्यस्टी आगामि मंगलवार न्यूयोर्कमा हुने भएको छ। ५३ बर्षीय प्याकुरेलको उपचारकै क्रममा बिहिवार बिहान न्यूयोर्कको एल्मष्ट अस्पतालमा निधन भएको थियो।
पछिल्ला केही बर्ष देखि परिवार सहित न्यूयोर्कमा बस्दै आएका प्याकुरेल निमोनिया र जन्डिसवाट ग्रसित थिए। उनकी धर्मपत्नी सुलोचना केसीले हृदयघातका कारण प्याकुरेलको निधन भएको उल्लेख गरेकी छिन्।
प्याकुरेलका नातेदार सञ्जय थापाका अनुसार उनको अन्त्यस्टी अगष्ट नौ तारिकमा हुने छ। भौतिक शरिरमा श्रद्धान्जली अर्पण गर्ने चाहनेहरुको लागि कोरोनामा (49-01, 104 st corona) विहान ११ बजे देखि १ बजे सम्म व्यवस्था गरिएको छ। यस्तै दाहासंस्कार दिउसो दुई बजे इस्ट एलम्टमा (72-02, Astoria Blvd. East Elmhurst) मा गरिने छ।
हेटौडामा जन्मिएका प्याकुरेलका श्रीमति, एक छोरा र एक छोरी छन् । प्याकुरेलका वाह्र वर्ष पछी, वेभअफ लाइभ र उबर नामक पुस्तक प्रकाशित छन्। उबरको दोस्रो भाग प्रकाशनको तयारीमा रहेको जनाइएको छ।
यसै बीच प्याकुरेलकी धर्मपत्नी सुलोचना केसीले गोफण्ड मार्फत आर्थिक सहयोगको अपिल गरेकी छिन्।
“मेरा श्रीमान् दीपक प्याकुरेललाई पुस्तकप्रति असाध्यै लगाव थियो र उहाँका केही किताबहरू पनि प्रकाशित भएका छन्। उहाँ आफ्ना साथीहरू र परिवारलाई धेरै माया गर्ने एक महान व्यक्ति हुनुहुन्थ्यो। उहाँको आज बिहान २ बजे हृदयघातका कारण निधन भएको हो ।” आर्थिक सहयोगको लागि अपिल गर्दै स्थापना गरिएको गोफण्डमा सुलोचनाले लेखेकी छिन्।
(प्याकुरेल परिवारलाई सहयोग गर्न यहाँ क्लिक गर्नु होला।)
प्याकुरेलले आधा दर्जन बढी गीत पनि लेखेका छन। प्याकुरेलका गीतमा आनन्द कार्की लगायतका गायकले स्वर दिएका छन् ।