अमेरिकामा सम्पन्न बाना कप भलिवल : पुरुषतर्फ सुदुरपश्चिम टेक्सास र महिलामा आयोजक टिम च्याम्पियन
मेरिल्याण्ड । दोस्रो बाना कप अन्तर स्टेट भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सुदुरपश्चिम टेक्सासले जितेको छ। पहिलो पटक आयोजित महिला तर्फको उपाधि भने आयोजक टिमले घरमै राखेको छ।
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) द्वारा आयोजित प्रतियोगिताको आइतवार साँझ भएको पुरुष तर्फको फाइनलमा सुदुरपश्चिमले सिन्धु बुद्ध टिमलाई तीन एकको सेटमा हरायो।
फाइनल खेल रोचक बन्यो । पहिलो सेट २५–२३ ले जितेको सुदुरपश्चिमले दोस्रो सेट २२–२५ ले गुमाएको थियो। तर तेस्रो सेट २५–१२ र चौथो सेट २५–१७ ले जित्दै सुदुरपश्चिम उपाधिको हकदार बन्यो।
महिला तर्फको उपाधि घरमा राख्ने क्रममा आयोजक बानाले फाइनलमा म्याग्दि समाजलाई दुई एकको सेटमा हरायो । नेपाली पूर्व राष्ट्रिय खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।
प्रतियोगितामा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी सुदुरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिला तर्फ रमिला तन्डुकार बनिन् ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पायो ।
यस्तै महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताल पाँच सय ५५ डलर हात पार्यो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका उप नियोग प्रमुख कुमार राज खरेल रहेका थिए । बिशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी ,महाबाणिज्यदुत प्रेम राजा महत,दुताबासका आमन्त्रित अतिथि,बानाका गुठी सदस्य प्रभु थापा ,विभिन्न संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।