हाम्रो भेलामा आइसीसीका अध्यक्ष नै उपस्थित हुने सम्भावना पनि छ : सिपी पौडेल
पेन्सिलभेनिया, अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाको साधरण सभा जुलाई ३ र ४ तारिक नर्थ क्यारोलिनामा हुँदै छ। सोही मितिमा एनआरएनए अमेरिकाकै नाममा टेक्सासमा पनि भेला बोलाइएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को एउटा पुरानो निर्णयलाई आधार मान्दै अमेरिकाज क्षेत्रका संयोजक (आरसी) प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा एनसीसी अमेरिका तदर्थ समिति गठन गरेका थिए । आरसी सापकोटाले बुद्दि सुवेदी अध्यक्ष रहेको निर्वाचित कमिटी अस्थित्वमा नरहेको जिकिर गरेका थिए।
प्रतिनिधि छनौटमा धाँदली भएको भन्दै कुल आचार्य समुहको बिद्रोहका कारण आइसीसीको महाधिवेशन हुन सकिरहेको थिएन। अमेरिका, बेलायत लगायतका धेरै सदस्य भएका एनसीसीहरु कुल आचार्य समुहको समर्थनमा उत्रिएका थिए। आइसीसीलाई गलाउन उनीहरुले आफुले तिर्नु पर्ने सदस्य शुल्क तिर्न आनाकानी गर्दै आएका थिए।
यसै मेसोमा आइसीसीको ८२ औं बैठकले तोकिएको मिति सम्म सदस्यता शुल्क नतिर्ने एनसीसीको सम्वन्ध खारेज हुने निर्णय गरेको थियो । त्यसो त सो समय आइसीसीले गरेका प्रायस सबै निर्णय बागमतिको पानीमा बगेका थिए ।
निर्वाचनका सबै कार्यक्रम स्थगित गर्दै विधान संसोधन गरेरै भए पनि तीन तीन अध्यक्ष सहित जम्मो समिति बनाइएको थियो। आइसीसीमा विषेश परिस्थिति भन्दै पुराना निर्णयलाई खारेज गरेर नयाँ कार्यसमिति बनाउने तर अमेरिकाको सवालमा त्यही निर्णयलाई आधार देखाउने काम भएको थियो।
यस अगाडि आइसीसीका अध्यक्षद्वय रविना थापा र डाक्टर बद्री केसी तथा महासचिव गौरी जोशी लगायत बहुमत पदाधिकारीकै सल्लाहमा आरसी प्रकास सापकोटाले ‘कमद’ चालेको आरोप लागेको थियो ।
तर जुनको पहिलो साता गौरी जोशीकै रोहवरमा कृष्ण लामिछानेले बुद्दि सुवेदी सँग ६ बुँदे सहमति गरेका थिए। लगत्तै कार्यसमितिको निर्देशन विपरित कृष्ण लामिछानेले एकलौटी रुपमा समहमति गरेको भन्दै उनलाई अध्यक्षबाट बर्खास्त गर्दै बरिष्ठ उपाध्यक्ष सिपी पौडैल कार्यवहाक अध्यक्ष बनेका थिए।
भलै २१ दिन भित्रै सहमति अनुसार काम नभएको भन्दै लामिछानेले ६ बुँदे सम्झौता भङ्ग भएको र आफु नर्थ क्यारोलिना नजाने भन्दै आइसीसीमा पत्र पाठएका थिए। त्यस पछि आइसीसीका महासचिव द्वय गौरी जोशी र डाक्टर केशव पौडेलले नर्थ क्यारोलिना साधरण सभाको सफलताको शुभ कामना सन्देश संयुक्तरुपमा विज्ञप्ति मार्फत जारी गरे ।
अध्यक्ष रविना थापा पनि पछिल्लो समय बुद्दि सुवेदीकै पक्षमा खुलेका छन् । यस्तो अवस्थामा पनि सीपी पौडैल समुहले डालासमा भेलालाई निरन्तरता दिने बताउदै आएको छ।
जसले जन्माएको हो उसैले वास्ता गर्न छोडे पछि अब त्यो सम्मेलनको के अर्थ, त्यसको बैधानिकता के हुन्छ ? यीनै विषयमा समाज टाइम्सले सिपि पौडेल सँग गरेको कुराकानी।
तपाईहरुको भेला के हुन्छ ?
समय मिले सम्म, सकिन्छ भने सबै जना उपस्थित हुने नभए जहाँ हुनुहुन्छ त्यहीबाट शुभ कामना दिने । सम्मेलन निरन्तर हुन्छ।
यो बीचमा सहमति गर्ने प्रयास भएको थियो भन्ने थियो कुरा मिलेन ?
को सँग सहमति गर्ने प्रयास भयो मलाई थाहा भएन म सँग सहमतिको प्रयास भएको छैन र हुदैन पनि ।
आइसीसीले नर्थ क्यारोलिनाको साधरण सभा शुभ कामना भनिसकेको छ। अमेरिकी कानुन अनुसार पनि निर्वाचित समिति बुद्दिसुवेदीकै हो । यस्तो अवस्थामा तपाईहरुले छुट्टै भेला गराउनुको के अर्थ ?
आइसीसीले शुभ कामना दिने कुरामा दुई जना महासचिव डाक्टर केशव पौडैल र गौरी जोशीले शुभ कामना दिनु भएको चिठ्ठि मैले देखेको हो। उहाँहरु दुबै जना अमेरिकामा नै हुनुहुन्छ । उहाँहरुले आइसीसीको लेटरप्याड दुरुपयोग गर्नु भयो। आफै उपस्थित हुन सक्नु हुन्छ भने शुभ कामना किन दिइरहनु भएको छ । बेमौषमको बाजा किन बजाउनु भएको हो।
आइसीसी पदाधिकारीको पछिल्लो बैठकमा पनि रविना थापा देखि बद्री केसी सम्मले ६ बुँदे सहमति भइसक्यो त्यो कार्यन्वयन हुँदै छ सबै जना नर्थक्यारोलिनामा एकै ठाँउमा सबै भेट हुने हो बाहिर बसेर, छुट्टै भेला गरेर केही हुदैन भन्नु भयो भन्ने आएको छ।
अब तपाई पनि रे मा सुन्नु भएको हो मैले पनि रे मा नै सुनेको हो । आजको अहिलेको मिति सम्म कुनै बुँदा पनि कार्यन्वन भएको छैन। ६ बुँदामा एक नम्वर बुँदा नै प्रमुख संरक्षक बारे छ। एनसीसी अमेरिकाको विधान अनुसार प्रमुख संरक्षकमा निवर्तवान अध्यक्षलाई मनोनयन गर्ने भन्ने छ त्यो कार्यन्वयन भएको सुन्नु भएको छ?
दोस्रो कुरा एमआइएस सिस्टममा हस्ताक्षर भयो आजका मिति सम्म ? उहाँहरुले मौखिक देखि लिखित सम्म सबै किसिमका सहमति गर्नुहुन्छ तर कार्यन्वयन गर्नु हुन्न। उहाँहरुको कमजोरी नै त्यही हो। त्यसैलाई उत्तरदायी बनाउन डालासमा कार्यक्रमको आयोजना गरेको हो।
तपाईहरुलाई आइसीसीले नै सम्वन्धन नदिने भए पछि त्यो कार्यक्रमको के अर्थ? बैधानिकता के ?
तपाईको एक दम राम्रो प्रश्न । हामीले आफैले भेला भएर यो समिति घोषणा गरेको होइन। यो समितिको घोषणा गर्दै गर्दा आइसीसीको लोगो लेटरप्याड प्रयोग गरेर आरसी (अमेरिकाज क्षेत्रिय संयोजक) प्रकास सापकोटाले आइसीसीलाई जानकारी दिएर यो समिति बनाएको हो। आजको मिति सम्म प्रकास सापकोटाको निर्णय अवैधानिक हो भनेर आइसीसीले कही कतै भनेको वा निर्णय गरेको छ ? आरसीको काम कर्तव्य अधिकारका कुरा आइसीसीको विधानमा गएर हेर्नु भयो भने स्पष्ट भनेको छ रिक्त रहेको एनसीसीको परिपूर्ति गर्ने जिम्मेवारी दिएको छ। एनआरएनए आइसीसीको ८२ औं बैठकको निर्णय अनुसार सदस्य शुल्क नतिरेको कारणले गर्दा एनसीसी अमेरिका रिक्त छ भन्ने कुरा कुमार पन्त (तत्कालिन अध्यक्ष)ले नै निर्णय गर्नु भएको कुरा हो। यसमा बद्रीजी,रवीनाजी,हेमराजजी,गौरीजी सबै पदाधिकारीहरुको साक्षि छन् । आजको मिति सम्म ८२ बैठकको निर्णय खारेज गरिएको वा प्रकास सापकोटाको निर्णय कार्यन्वयन नगर्नु, डालासको भेलामा आइसीसीको कोही पदाधिकारी नजानु आधिकारिक कार्यक्रम नर्थ क्यारोलिना हो भनेर विज्ञप्ति आएको छ ? त्यसै ले आइसीसीका महत्वपूर्ण पदाधिकारी हाम्रो भेलामा आउनु हुन्छ ।
अनि कृष्ण लामिछानेको के हुन्छ ? तपाईहरुको भेलामा आउनु हुन्छ ?
कृष्ण लामिछानेजी हाम्रो भेलामा उपस्थित हुनुहुन्छ।
अध्यक्षकै हैसियतमा की सहभागि मात्र हुने ?
उहाँ हाम्रो संस्थाको अभियान्ता, पूर्व अध्यक्षको हैसियतमा कार्यक्रममा उपस्थित गर्नु हुन्छ।
कुरा भएको छ लामिछाने सँग ?
मेरो प्रत्यक्ष कुराकानी भएको छ। उहाँलाई सोध्नु भयो भने पनि कुरा त्यही हो पूर्व अध्यक्षको हैसियतले हाम्रो भेलालाई सम्वोधन गर्नु हुन्छ।
तपाईहरुको भेलाको अर्थ र औचित्य के त ?
संस्थाको विविध समस्याको निराकरण, संस्थालाई सबैको अपनत्व हुने किसिमको पारदर्शी उत्तरदायी, जिम्मेवारी बोध हुन सक्ने कसरी बनाउने भनेर भेलाले निष्कर्श निकाल्छ।
मैले केही अगाडि आइसीसी अध्यक्ष रवीना थापा सँग पनि कुरा गरेको थिए । उहाँले यदी बुद्दि सुवेदीले गलत गरेको भने त उनलाई सच्याउने भनेकै साधरण सभा हो । साधरण सभामा गएर सबै कुरामा बुद्दि सुवेदीलाई विफल पारेर आफ्नो एजेण्डा पास गर्ने ठाँउ छोडेर बाहिर बाटोमा अर्को कार्यक्रम गरेर पनि संस्था सुध्रिन्छ र ? भन्नु भएको थियो त ।
बाटामा होइन हामी शहरमा नै बसेका छौ। उहाँ हिजो आइसीसीको अध्यक्ष हुँदै गर्दा बाटोमा बसेर अध्यक्ष मागेर आउनु भयो होला । हामी त्यसरी आएको पनि होइन। उहाँकै कमिटीको प्रकासजी हो। प्रकासजीले बैधानिक रुपमा आइसीसीलाई जानकारी दिएर समिति बनेर विभिन्न चरणमा बैठक पनि भएको हो। बाटोमा कस्ले के भन्यो भनेर भन्नेको मुख थुन्न नसकिने रहेछ।
टेक्सासमा कति मान्छे उपस्थित हुन्छन ? आइसीसीबाट को को आउछन् ?
अमेरिकाको व्यस्थ समय हो। आइसीसी देखि सारा शक्ति नर्थक्यारोलिना भनेर कुदिरहेको छ। यकिन संख्या चै भन्न सक्दिन तर उपस्थिति राम्रो हुन्छ। आइसीसीबाट अमेरिकाज क्षेत्रका आरसी डिआरसी आउनु हुन्छ। यस्तै सचिव शंकर खड्का, कोषाध्यक्ष सुनिल शाह लगायत उपस्थित हुन्छन्।
प्रमुख अतिथि को हुन्छ नी ?
अहिले एक दुई दिनमा घटना क्रम तिब्र परिवर्तन भइरहेको छ। भोली आइसीसीका अध्यक्षकै पनि उपस्थित हुन सक्ने संभावना पनि छ। आइसीसीकै महासिचव पनि उपस्थित हुने सम्भावना देखिएको छ।
त्यस्तो चमत्कार होला र अब ?
सम्भावना छ।