ओलीले संविधान संशोधन गर्न दिएनन्, सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्छौ : प्रचण्ड
जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।
मधेसमा बुबा–आमाको नागरिकता हुने तर छोराछोरीको नहुने स्थिति लज्जास्पद
‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् ।
जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए ।
मधेस प्रदेशको धनुषास्थित मिथिला नगरपालिकामा आज पार्टी कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न खोजिँदा सर्वोच्च अदालतमा रिट परेको र रिटको सुनुवाइ गर्दै अदालतले संसद्बाटै छलफल गरेर निर्णय गर्न आदेश दिएको बताए ।
‘मधेसमा नागरिकताको समस्या अलिक गम्भीर र जटिल रूपमा रहेको छ । मैले पनि पहिले पनि भनेको छु, यो नागरिकताको समस्या छिटोभन्दा छिटो समाधान गरिनुपर्छ’, प्रचण्डले भने, ‘गठबन्धनको सरकार बनिसकेपछि प्रधानमन्त्रीसँग र गठबन्धनका सबै नेतहरूसँग नागरिकता समस्या टुंग्याउनेबारे अध्यादेशबारे अदालतमा रिट पर्याे अदालतले संसद्बाटै छलफल गरेर निर्णय लिनू भनेको छ ।’
तर, संसद् भने प्रमुख विपक्षी नेकपा एमालेले चल्न नदिएको प्रचण्डले आरोप लगाए । संसद् चलेको भए नागरिकता समस्या समाधान गर्न ऐन कानुन बन्ने उनको दाबी छ।
उनले नागरिकताकै कारण मधेसमा धेरै युवायुवतीले जागिर खान नपाएको भन्दै चिन्ता पनि प्रकट गरे ।
ओलीले संविधान संशोधन गर्न दिएनन्
‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।
दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको आरोप लगाए।
‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’
प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे ।
उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए ।
गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे ।