अमेरिकामा रहेका बालबालिकालाई नेपाल चिनाउन ‘कल्चरल क्याम्प’
टेक्सास । अमेरिकामा रहेका नेपाली बालबालिकाहरुलाई आफ्नो पूर्ख्यौली संस्कृति र संस्कारका बारेमा जानकारी दिन ‘कल्चरल क्याम्प’ आयोजना गरिएको छ।
नेपाली समाज टेक्सासले यस्तो कार्यक्रम आयोजना गरेको हो। समाजले लामो समय देखि नेपाली पाठशाला सञ्चालन गर्दै आएको छ।
टेक्सास स्थित नेपाली मन्दिर (एन सी एस सी) मा आइतवार गुरु डाक्टर चिन्तामणि योगीको आथित्यमा कल्चरल क्याम्प भएको हो।
क्याम्प दुई सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्र बिहान दश देखि १२ बजे सम्म भएको थियो। बीचमा नेपाली मन्दिरको दैनिक आरती पछि दिउसो एक बजे देखि चार बजे सम्म दोस्रो सत्र भएको थियो।
क्याम्पमा सहभागी भएका पाठशालाका छात्र कुशाग्र वाग्लेले यस अगाडि आफुलाई सामान्य लागेका कुराको पनि गहिरो अर्थ रहेको बताए। “साधारण जस्तो लाग्ने कुराको अर्थ धेरै रहेछ जुन हामीलाई थाहै थिएन तर आज थाहा पाइयो।” वाग्लेले भने। “निधारको बिचमा किन टिका किन लगाउने, हाम्रो शरीरमा रहेका विभिन्न चक्रहरुको अर्थ के हो , यस्तै यस्तै कुराहरु सिकेको छु।”
यस्तै पाठशालाकी अर्की छात्रा कृषा र उबिकाले ध्यानको अर्थ बुझेको प्रतिक्रिया दिए। “ड्याडीले ‘ध्यान गर’ भन्नु हुन्थियो तर किन भनेको होला भन्ने लाग्दथ्यो, आज गुरु बाट राम्रो सँग बुझ्यौ।”
क्याम्पसमा सहभागि शिरिश न्यौपानेले भागवत गिता र महाभारतका स्लोक वाचन गरेका थिए ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले कल्चरल क्याम्पमा बिद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिती अत्यन्त उत्साहजनक भएको बताए।
नेपाली मन्दिरका ट्रष्टी अध्यक्ष विनय अर्यालले बिद्यार्थीहरुलाई योग, ध्यान र पूर्विय संस्कृतिको महत्वको बारेमा जानकारी गराउन सकियोस भन्ने अभिप्रायका साथ कल्चरक क्यामको आयोजना गरिएको बताए।
एन.एस.टी पाठशालाका प्रिन्सिपल बिजय राज भट्टराईले अमेरिकामा रहेका नेपाली बालबालिकालाई नेपाल चिनाउन कार्यक्रम उपयोगि हुने धारणा राखे।
“अमेरिकामा हुर्किरहेका बच्चाहरुले अमेरिकी कल्चरलाई बुझेका हुन्छन तर नेपाली कल्चरलाई बुझ्ने भनेको नै यस्तै गुरु जनहरुको सत्संग बाट नै हो। त्यसैले हामीले यो कल्चरल क्याम्पको आयोजन गरेका हौ।” भट्टराईले भने।
पाठशालाका कोर्डिनेटर भोज बहादुर बलायरले यस्ता कार्यक्रमले बाच्ने कला सिकाउने बताए। “सम्पन्न र अवसरको खानी भएको देशमा छौ हामी, हाम्रा बच्चाहरु यहाँ हुर्किरहेका छन। भौतिक रुपमा सम्पन्न भए पनि जीवन ‘बाच्ने कला’ नजानेर बर्बाद भएका धेरै घटना देखिरहेका छौ।”
बलायरले भने “यो जीवन ‘बाच्चे कला’ जान्नु भनेको धेरै ठुलो कुरा हो। ज्ञान र घ्यान बाट यस्को शुरुवात हुन्छ। ध्यान र ज्ञान ले नै जीवनलाई संम्यम बनाउछ। संयमताले व्यक्तिगत जीवनलाई परिष्कृत बनाउछ। त्यसैका लागि यो शुरुवात हो। बच्चाहरुको भबिस्यको जीवन पनि परिष्कृत हुन सकोस भनेर म यति उत्साही भएको हुँ।”
पुजा समितिका अध्यक्ष सुरेश पोख्रेलले गुरुको सँग ज्ञानको भण्डार रहेको बताएका थिए। “उहाँ सँग ज्ञानको भण्डार छ, हामि कति लिन सक्छौ लिदै जाने हो।”
कार्यक्रममा नेपाली समाज टेक्सास र एन एस सी पाठशालाको तर्फबाट नेपाली समाज टेक्सासका उपाध्यक्ष किरण पौड्यालले, गुरु डाक्टर चिन्तामणि योगीलाई उनले नेपालमा सञ्चालन गर्दै आएको स्कूलको लागि आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण गरेका थिए।
नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेती र पाठशालाका कार्यबाहक प्रिन्सिपल पशुपति तिम्सिनाले संयुक्त रुपमा कार्यक्रममा संचालन गरेका थिए।