सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोष्ट गर्नेलाई कडा कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी
काठमाडौं ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्थ्या सूचना तथा आचारसंहिताविपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए ।
निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे ।
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।
राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’ को विवरण आयोगमा बुझाउनुपर्ने
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।
उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिताविपरीतका कार्य गरेको पाइएको कारवाही गरिने उनले बताए ।
सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको क्रममा हुनसक्ने मिथ्था सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।