महाधिवेशन पछि एनआरएनए आइसीसीको पहिलो बैठक : मुख्य एजेण्डा नै भएन पास, “पहिलो गाँसमै ढुङ्गा”
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को महाधिवेशन पछि शनिवार बसेको पहिलो बैठक “पहिलो गाँसमै ढुङ्गा” भने जस्तै भएको छ।
निकै तामझामका साथ भएको पहिलो बैठकमा एक सय जना भन्दा बढी सहभागि नै भएन। आइसीसीमा ५९ पदाधिकारी सहित दुई सय ४० जनाको जम्बो टोली छ। तर पहिलो बैठकमा आधा भन्दा बढी सहभागि नभएको बताइएको छ।
बैठकले निकै चासोका साथ हेरिएको र मुख्य एजेण्डामा रहेको सल्लाहाकार र सदस्य नियुक्ति सम्वन्धी निर्णय नै गर्न सकेन । बैठकमा सहभागि एक सदस्यका अनुसार तीन अध्यक्षमा कुरा मिल्न नसक्दा निर्णय हुन नसकेको हो।
“तीन अध्यक्ष कै कुरा बाझियो, रबिना थापाले आफुले हेपिएको महशुश भएको बताइन, उनको भनाइ विधि सम्वत भएन, जवरजस्ति गर्न खोजियो भन्ने थियो,” बैठक पछि समाज टाइम्सको सम्पर्कमा आएका एक सदस्यले भने। “असहमतिका स्वरहरु शुरुमै भए, कुल आचार्यले बेग्लै बोले । रबिनाले बेग्लै, डाक्टर बद्री केसीले बेग्लै बोले तर भन्न चै सहमति भन्न सकैले पनि छोडेनन् ।”
शुरुमा सल्लाहाकार र सदस्यमा तीन अध्यक्षले सात सात जनाको नाम सिफारिस गरि भागबण्डा गर्ने सहमति भएको बताइएको थियो। तर पछि बोल्ने क्रममा अर्का अध्यक्ष डाक्टर बद्री केसीले फरक मत राखेको ति सदस्यले जानकारी दिए। “हामी बीचमा एथेष्ट छलफल भएन, विभिन्न कारणले हुन सकेन र साथिहरु माझमा नाम ल्याउन सकिएन भनेर अध्यक्ष बद्रीजीले भन्नु भयो”
बैठकमा सहभागि सदस्यका अनुसार अध्यक्ष रबिना थापा आफ्ना श्रीमान नारायण थापालाई पनि आइसीसी सदस्यमा मनोनित गर्नु पर्ने अडानमा छिन्।
अध्यक्षहरु बीचमा नै फरक फरक धारणा आए पछि १५ दिन भित्र तीन अध्यक्ष र दुई महासचिवले सल्लाहाकार र अन्य सदस्यको नाममा टुङ्गाएर पदाधिकारी बैठकमा छलफलमा ल्याउने निर्णय भएको छ।
साढे चार घण्टा भन्दा बढी चलेको बैठक पुरै गुनासोले भरिएको ती सदस्यको भनाइ छ। “बैठक पुरै गुनासोले भरिएको थियो ।पहिलो बैठकमा उत्साह थिएन, पहिलो त धेरै साथीहरु नै उपस्थित हुनु भएन, जो जसले बोले प्रायजसोले आइसीसीले राम्रो गर्न सकेन, यत्रो जम्बो टोली भयो, हामीले बोल्न पाएनौ यस्तै यस्तै गनथनमा बैठक सकियो” उनले भने ।
अझै तिरेनन सय भन्दा बढीले शुल्क
कार्यकारी अध्यक्ष कुल आचार्यको सभापतित्वमा भएको शनिवारको बैठक शुरुमा महासचिव गौरी जोशीले चलाएका थिए । बीचमा दुई घण्टा अर्का महासचिव डाक्टर केशव पौडैलले चालाएका थिए । साढे चार घण्टा भन्दा बढी चलेको बैठकको अन्तिम दुई घण्टा जोशीले नै सञ्चालन गरेका थिए।
बैठकमा अझै पनि एक सय भन्दा बढीले शुल्क नतिरेको जानकारी गराइएको थियो। उपाध्यक्ष बिष्णु माया परियार, सचिव प्रविण गुरुङ र सहकोषाध्यक्ष योगिता गुरुङले मनोनयन शुल्क तिरेका छैनन ।
यस्तै एक सय भन्दा बढी सदस्यले पनि शुल्क तिरेका छैनन् । उनीहरुलाई थप १५ दिनको समय दिने निर्णय बैठकले गरेको छ।
यस्तै बैठकले अब देखि पदाधिकारी बैठकमा आरसी र डिआरसीलाई आमन्त्रित सदस्यको रुपमा सहभागि हुन दिने निर्णय गरेको छ। आमन्त्रित सदस्यले बैठकमा सुन्न मात्र पाउछन् । त्यस्तो सुविधा आइसीसीको बैठकमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षलाई अहिले पनि छ।
अमेरिका विवाद बारे छलफल भएन तर दुबै अध्यक्ष बैठकमा सहभागि
आइसीसीको शनिवारको बैठकमा अमेरिका एनसीसीको नयाँ विवाद बारे छलफल नै नभएको बताइएको छ। त्यसो त अमेरिका विवादलाई एजेण्डामा पनि समावेश गरिएको थिएन।
“अमेरिकाको विषय प्रवेस गराउन कसैले पनि चाहेनन्,” ती सदस्यले भने।
तर आइसीसीको बैठकमा एनसीसी अमेरिकाका दुबै जना अध्यक्षले सहभागिता जनाउने अवसर पाएका छन् ।
ती सदस्यका अनुसार बुद्दि सुवेदी र कृष्ण लामिछाने दुबै बैठकमा थिए। कृष्ण लामिछाने आधा घण्टा भन्दा बढी बैठकमा बसेका थिए। लामिछानेले आफु बैठकमा सहभागि भएको पुष्टि समेत गरेका छन्। समाज टाइम्स सँगको कुराकानीमा लामिछानेले आफु आइसीसीको निमन्त्रणामा बैठकमा उपस्थित भएको दावी गरे।
तर आइसीसीका महासचिव गौरी जोशी र डाक्टर केशव पौडेल दुबैले बैठकमा लामिछानेको उपस्थितिको बारेमा अनविज्ञता प्रकट गरे। उनीहरु दुबै जनाले आफुहरुले लामिछानेलाई बैठकमा निमन्त्रणा नदिएको बताए। “सायद आइटीका साथिहरुबाट गल्ति भएको होला मैले निम्ता पठाएको छैन” दुबै महासचिवको एकै स्वर थियो । तर समाज टाइम्सलाई प्राप्त बैठकमा सहभागिको लिष्टमा पनि लामिछानेको नाम छ।
आइसीसीको बैठकमा एनसीसी अध्यक्षलाई आमन्त्रित सदस्यको रुपमा सहभागि गराइन्छ। बैठकमा सहभागिताको जानकारी महासचिवले दिने चलन छ। कृष्ण लामिछानेलाई कसले भित्र प्रवेस गरायो अन्यौल बढेको छ।
एनआरएनए अमेरिकामा अहिले जवरजस्त विवाद थपिएको छ। पूरानो एक निर्णयलाई आधार मान्दै अमेरिकाज क्षेत्रिय संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको जनाएका छन्।
बुद्दि सुवेदी निर्वाचित अध्यक्ष हुन् । आइसीसी शुल्क नतिरेकाले बुद्दि सुवेदीको निर्वाचित समिति अवैध भएको भन्दै सापकोटाले नयाँ कदम चालेको जनाएका थिए।
अमेरिकाको सम्वन्धमा नयाँ विवाद आए पछि त्यो सल्टाउने जिम्मा आइसीसीको पदाधिकारी बैठक (ओवी) ले अध्यक्ष रविना थापालाई दिएको थियो । तर त्यसबारे कुनै निर्णय नहुदै दुबै जना अमेरिकाको अध्यक्षको हैसियतमा आइसीसी बैठकमा सहभागि भएका हुन्।
तदर्थ समिति बने पछि बुद्दि सुवेदी नेतृत्वको एनआरएनए अमेरिकाले पनि शुल्क तिरिसकेको छ।
विधान समिति संयोजकमा शर्मा
बैठकले विभिन्न विभागहरु भने गठन गरेको छ। मुख्य चासो रहने विधान समितिमा उपाध्यक्ष डाक्टर हेमराज शर्मा पुन फर्किएका छन्।
सन् २००७ देखि लगातार विधान समितिमा रहदै आएका शर्मा महासचिव हुदाँ सो भूमिकाबाट बाहिर थिए । सचिव गंगाधर गौतमले सो जिम्मेवारीको माग गरेका थिए । तर अर्का सचिव प्रमोद सिटौलाले पनि नि दावी गरे पछि अध्यक्ष डाक्टर बद्री केसीको जोडबलमा शर्मालाई जिम्मेवारी दिइएको बताइएको छ।
विधानको आफुखुसी व्याख्या गर्दा एनआरएनए आइसीसीको पछिल्लो महाधिवेशन निकै विवादमा परेको थियो । जसका कारण महाधिवशेन छ महिना भन्दा ढिलो गरि सम्पन्न भयो जुन महाधिवशेनले तीन अध्यक्ष सहितको जम्बो टोलीको बाचन गरिएको थियो।
विज्ञ सम्मेलन अक्टोबरमा काठमाडौंमा
बैठकले अबको विश्व विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
सम्मेलनमा विदेशमा रहेका विभिन्न रिचर्स सेन्टर र विश्वविद्यालयमा कार्यरत नेपाल तथा विदेश विज्ञको सहभागिता रहनेछ । सम्मेलन सम्पन्न गर्न संघका उपाध्यक्ष डा. शर्माको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
बैठकले आगामी १८ महिनाको कार्यविधि तयार गर्ने जिम्मा उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिएको छ।
बैठकले नेपालमा हुने राष्ट्रिय खेलकुदमा एनआरएनए खेलाडीको सहभागीतालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।