पैसा तिर्यो एनआरएनए अमेरिकाले, अब के गर्छ त आइसीसीले ?
ल्यानक्यास्टर। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सँगको बक्यौता शुल्क तिरेको जनाएको छ।
शुल्क तिर्ने म्याद सकिनु अघिल्लो दिन शुक्रवार एनआरएनए अमेरिकाले बक्यौता बुझाएको हो। एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सागर सुवेदीले बैक माध्यमबाट नै पैसा पठाइएको जनाए।
“हामीले पहिला देखि नै आइसीसी सँग जे जस्ता कागजपत्र मागेका थियौ ति पाए पछि बिहिवार पैसा पठायौ आज (शुक्रवार) नेपालको खातामा पैसा जम्मा भयो भन्ने जानकारी आएको छ।” समाज टाइम्स सँगको कुराकानीमा सुवेदीले भने।
सुवेदीले अमेरिकामा रहेको वेल्सफार्गो बैकबाट नेपालको सानिमा बैकमा रहेका आइसीसीको खातामा नगद ट्रान्सफर भएको बताए।
“अहिले ट्याक्स नकाटी नै पठायौ, सुवेदीले भने,”ट्याक्स काट्ने कि नकाट्ने भन्नेमा दुविधा थियो, हामीले विभिन्न सीपीएहरु सँग परामर्श गर्यौ,यस अगाडि पनि ट्याक्स नकाट्ने गरिएको देखियो त्यही भएर अहिले हामीले सबै रकम पठायौं।”
सुवेदीका अनुसार एक करोड १७ लाख ३४ हजार चार सय ८८ रुपैयाँ नेपालमा रहेको आइसीसीको खातामा जम्मा भएको छ। एनआरएनए अमेरिकामा बीस हजार भन्दा बढी सदस्य छन्। सदस्य शुल्कबाट उठाइएको २० डलर मध्ये ५ डलर आइसीसीलाई पठाउनु पर्ने हुन्छ।
तर एनआरएनए अमेरिकाले शुरुमा यस पटक आफ्नै कार्यलय भवन खरिद गर्ने भन्दै आइसीसी सँग शुल्क मिनाहाको प्रस्ताव राखेको थियो । तर पछि आइसीसीको महाधिवेशन सम्वन्धि विवादका कारण शुल्क तिर्ने विषय पनि विषयान्तर भएको थियो।
एनसीसी अमेरिकाले शुल्क तिर्नका लागि विभिन्न शर्त राख्दै आएको थियो भने आइसीसीले समयय सीमा भित्र शुल्क नतिरे सम्वन्ध खारेज गरिदिने बताउदै आएको थियो।
महाधिवेशन पछि भने आइसीसीले अप्रिल ३० तारिक सम्म बक्यौता रकम तिर्न भनेको थियो। शुल्क सम्वन्धी विषयकै एक पुरानो निर्णयलाई टेकेरे अमेरिका क्षेत्रिय संयोजक प्रकास सापकोटाले कृष्णा लामिछानेको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरिसकेका छन्।
अहिले अमेरिकामा दुई वटा समितिले आफुहरु आधिकारिक रहेको बताउदै आएका छन्। महाधिवेशन पछि आइसीसीको पहिलो पूर्ण बैठक शनिवार बस्दै छ। सोही बैठकमा अमेरिकाको विषयमा पनि छलफल हुने जनाइएको छ।